काठमाडौँ । प्रहरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद कट्टा भएर रिहा भएका जन्मकैदका दोषी योगराज ढकाल रिगल खोज्न थालेको छ । सर्वोच्च अदालतबाट सरकारको निर्णय बदर भए लगत्तै पक्राउ गरेर कारागार चलान गर्न उनको खोजी सुरु भइसकेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले उकेरालाई जानकारी दिए ।
‘अदालतको आदेश अनुसार अब उनलाई पक्राउ गरेर कारागारमा बुझाउँछौँ,’ कडायतले भने’ उनको खोजी सुरु भइसक्यो ।’ बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले जन्मकैद पाएका रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय बदर गर्न आदेश दिएको थियो ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सरकारले गरेको निर्णय बदर भएको उकेरालाई जानकारी दिए । इजलासले संविधान र कानुन विपरीत भएको देखिएको भन्दै सो निर्णय बदर गर्न परमादेश दिएको हो । संविधान दिवसका दिन अन्य कैदीसँगै रिगलको बाँकी सजाय माफी दिँदै रिहा गरेको थियो ।