नारायणगढ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका-१२ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका हुन् ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाबाट सुविधा लिँदै आएका थिए । विगत ६ महिनादेखि नेपालगञ्ज बस्दै आएका उनले ठगी धन्दा बाहेक अन्य कुनै काम वा व्यवसाय नगर्ने गरेको डिएसपी डाँगीले बताए ।
‘कुनै कार्यालय वा संघसंस्थाका कर्मचारीको कमजोरी पत्ता लगाई उनीहरूसँग रकम बार्गेनिङ गरी असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन बाँकी छ ।’ सरकारी कार्यालयका कर्मचारी र विभिन्न संघसंस्थाका मानिसहरूलाई रकम माग्दै सताउने क्रम नरोकिएपछि अख्तियारसम्म कोइरालाको बारेमा गुनासो पुगेको थियो ।
सोही गुनासोका आधारमा अख्तियारको बुटवल कार्यालय, नेपालगञ्ज कार्यालय र बाँके प्रहरीको टिमले संयुक्त रूपमा कोइरालालाई बिहीबार पक्राउ गरेका थियो । पक्राउ गर्ने क्रममा आरोपित कोइरालाले गालीगलौज गर्नुका साथै काम-कारबाहीमा अवरोध गर्न खोजेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो ।