काठमाडौं । देशभरका अदालतमा आज, आइतबार (घटस्थापना)देखि नै दशैं बिदा सुरु भएको छ। अब कात्तिक १२ गते आइतबारदेखि मात्रै अदालत खुल्नेछ।
दशैं बिदाको अवधिमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ। दशैं बिदाको १४ दिनको अवधिमा पनि आज (आइतबार) घटस्थापनाको बिदा छ। यस्तै, कात्तिक ४ गते शनिबार, ७ गते विजया दशमी र कात्तिक ११ गते शनिबारको बिदा हुनेछ। ती दिन बन्दी प्रत्यक्षीकरणको रिट पनि सुनुवाइ हुनेछैन।
बाँकी ११ दिन भने बन्दीको रिट हेर्नका लागि सर्वोच्च अदालत न्यायाधीशहरुको पालो तोकेको छ। जिल्ला अदालतमा पनि बन्दीका मुद्दाहरु हेर्न पालो तोकिएको हुन्छ। उच्च अदालतमा भने प्राय बन्दीका मुद्दाको सुनुवाइ हुँदैन।
दशैं बिदाको समयमा सर्वोच्च अदालतमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणका रिटहरुको सुनुवाइ हुनेछ।
सर्वोच्च अदातलले आइतबार सूचना प्रकाशित गरी बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइ हेर्ने न्यायाधीशको सूची सार्वजनिक गरेको छ।