• जेष्ठ ८ २०८३, शुक्रबार

९० लाख रुपैयाँको स्रोत नखुलेपछि स्याङ्जाका अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आश्विन १९ २०८०, शुक्रबार

काठमाडौं । स्याङ्जाका एकजना सिनियर अहेवमाथि अकुत सम्पत्ती कमाएको आरोप लागेको छ । जिल्लाको चापाकोट नगर कार्यपालिकाको कार्यालय, चापाकोट स्याङ्जाका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध ९० लाख रुपैयाँ बढी गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको पुष्टि हुन आएकाले कोइरालाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोप-पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला रिजालले जानकारी दिए ।

सार्वजनिक सेवामा रहँदा करिब २० वर्षको अवधिमा कोइरालाले आर्जन गरेको सम्पत्तीमध्ये ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको अख्तियारको ठहर छ। उनले २०५४ साल कार्त्तिक  ५ मा सरकारी सेवामा प्रवेश गरेका थिए।

सार्वजनिक नियुक्ति पाएको मिति २०५४/०७/०५ गतेदेखि २०७८/०८/२१ गतेसम्मको जाँच अवधिमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा  ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारको जनाएको छ।

जागिर अवधिमा कोइरालाले खर्च, लगानी तथा सम्पत्ती आर्जनमा ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको पुष्टि भएको अख्तियारले जनाएको छ। कोइरालालाई सोही रकम बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तीबाट जफत/असुल गर्न माग दावी गरिएको छ।

साथै कोइरालाको श्रीमती गीता कोइरालाको नाममा बैंक खातामा रहेको स्रोत नखुलेको रकम पनि जफत गर्न माग गरिएको अख्तियारले जनाएको छ।