काठमाडौं । ललिता निवास प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकीलले जवाफी बहस गर्नेछन्।
सो मुद्दामा बहस सके आजै र नभए भोलिसम्म थुनछेक आदेश आउने सम्भावना देखिएको छ । यसअघि भदौ २२ मा नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकीलले बहस गरेका थिए । बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकीलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ।
त्यसपछि थुनछेक आदेश आउनेछ। कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतले आदेश गर्नेछ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ। सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ। जसमध्ये २१ जनाको भने मृत्यु भइसकेको छ।