काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय रहेको बताएका छन् ।
अखिल नेपाल महिला संघ मध्यपुर थिमी नगर कमिटिले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरू एकै ठाउँ बसेको मन नपराउनेहरुले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताए ।
ओलीले सामाजिक सुप्रबन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरुको विशेष महत्व रहेको बताए । उनले मुलुकको अवस्थामा परिवर्तन ल्याए पनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राखे ।
ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घाखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरूमाथि कुटपिट गरेको र त्यसको समस्या समाधन गर्न आफू जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहोरिने खतरा कायमै रहेको बताए ।
उनले आयातित बस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे । मुलुकका उत्सव चाडपर्वहरूले आफ्ना खुट्टामा आफै उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।