• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रपतिद्वारा गौरा पर्वको शुभकामना

भाद्र ७ २०८०, बिहीबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

उनले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।