• बैशाख २२ २०८३, मंगलवार

पार्टीको पदाधिकारी बैठकमा प्रचडले भने,‘सुन प्रकरणमा दोषी देखिएका नेताहरु जेल जान तयार भएर बस्नु’

श्रावण २८ २०८०, आईतवार

पदाधिकारी र मन्त्रीसहितको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र अनियमितामा माओवादीका जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाही हुने बताएका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले भ्रष्टाचार र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिए उनीहरूलाई पनि जेल हाल्ने बताएको सचिव डिलाराम आचार्यले बताए ।

‘प्रधानमन्त्रीले बैठकमा भ्रष्टाचार, अनियमिता र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिएमा जेल बस्न तयार हुनुहोला । भ्रष्टाचार र अनियमितामा कुनै सम्झौता हुँदैन । सरकारको नीति सबैलाई बराबर हो । दोषी देखिएका कसैलाई पनि छोडिने छैन । चाहे त्यो माओवादीको पदाधिकारी नै किन नहोस् भन्नुभयो,’ बैठकमा सहभागी आचार्यले भने ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेताहरूलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाएको आचार्यले बताए । यद्यपि कुनै नेता विशेषको नाममा भने छलफल नभएको आचार्यले जानकारी दिए । ‘बैठकमा कुनै नेता विशेषको नाममा छलफल नभए पनि दोषी देखिए माओवादीका पदाधिकारीलाई पनि छोड्नुहुन्न भन्ने छलफल भयो,’ आचार्यले भने, ‘महरा कमरेडको नाम उल्लेख भएन । दोषीलाई कारबाही गर्नेमा बैठक एक मत भएको छ ।’

बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले गरेका कामको बिफ्रिङ गरेको आचार्यको भनाइ छ । केही समयदेखि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम ९ किलो सुन प्रकरणमा जोडिएको छ । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सचिव वर्षमान पुन र उनको परिवारका फोटाहरू सार्वजनिक भएका थिए ।

पुनले छानबिन हुनुपर्ने बताउँदै आएका छन् । साउन १७ देखि २१ सम्म चलेको माओवादीको केन्द्रीय कमिटी बैठकमा पनि पुनले सुन प्रकरणमा आफ्नो नाम जोडिएकाले छानबिन हुनुपर्ने माग राखेका थिए । तर, महराले यो विषयमा केही पनि बोलेका थिएनन् । बैठकबाट बाहिर निस्कँदा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै महराले आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए ।

आइतबारको पदाधिकारी बैठकमा सञ्चारमाध्यममा आएका समाचारका बारेमा पनि छलफल भएको अर्का एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘अहिले मिडियामा आएकाले अलिअलि नेताहरूका बारेमा चर्चा हुने कुरा स्वाभाविक हो । तर, प्रधानमन्त्रीले माओवादीका जुनसुकै तहको नेता सुन प्रकरणमा र अन्य प्रकरणमा दोषी ठहरिए जेल जान तयार हुनू भन्नुभयो, जसको बैठकले समर्थन गर्यो ।’

आजको बैठकमा महासचिव देव गुरुङ भने सहभागी थिएनन् । उनी चीन भ्रमणमा छन् । उपाध्यक्ष महरा लुम्बिनी प्रदेशमा पार्टीको बैठक भएकाले सहभागी थिएनन् । आजको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ ।