• जेष्ठ ९ २०८३, शनिबार

पहिरोका कारण मनाङ आवतजावत पूणर्रुपमा अवरुद्ध

श्रावण २८ २०८०, आईतवार

चामे । हिमाली जिल्ला मनाङमा आवतजावत पूणर् रूपमा अवरुद्ध भएको छ । डुम्रे-बेसीसहर-चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका-६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो ।

शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ ।
यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरो खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए ।

‘केही स्थानमा पहिरो खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ,’ अधिकारीले भने । सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए ।

सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले जोखिम मोलेरै काम गरिरहेको बताए ।

यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरो खसेको उनले जानकारी दिए । ‘लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरो खसेको छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताइन् ।

उनले पहिरोका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन् । डुम्रे-बेसीसहर-चामे-खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे-बेसीसहर-चामे सडक खण्डको ३० किलोमिटरमा पहिरो खसिरहने गरेको छ । खसेको पहिरो हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।