• बैशाख २२ २०८३, मंगलवार

सुन तस्करी प्रकरणमा प्रमाणले दोषी देखाएमा कोही नछुट्ने गृहमन्त्रीको दाबी

श्रावण २३ २०८०, मंगलवार

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी देखाएमा कोही नछुट्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारका ती प्रकरणहरूमा अनुसन्धान भइरहेको बताएका छन् ।

बैठकमा जवाफ दिँदै मन्त्री श्रेष्ठले भने–‘ललिता निवास प्रकरणमा अदालतको आदेशले थप अनुसन्धानका लागि आधार दिएको छ । सीआईबी अनुसन्धानको प्रक्रियामै छ । यसलाई सकारात्मक रुपमा लिउ । निष्पक्ष ढंगले अनुसन्धान प्रक्रियालाई पूरा गर्न प्रहरीलाई निर्देशन दिएका छौँ ।’

उनले भेपमार्फत् भएको सुन तस्करीको फाइल आफ्नो टेबलमा नभई सीआईबीले अनुसन्धान गरिरहेको बताए । उनले भने–‘केही माननीय सांसदहरुले भेपमा सुन तस्करीको विषय उठाउनुभयो । मेरो अनन्य मित्रले भेपको अनुसन्धानको फाइल गृहमन्त्रीको टेबलमा छ भन्नुभयो ।

पहिला सरकार चलाउँदा त्यस्तो गरिन्थ्यो र भनेको ? पहिला मेरो टेबलमा ल्याऊ र म जे भन्छु त्यही गर भनिन्थ्यो र ? तर हामीले त्यसो गरेका छैनौँ । तपाई जे देख्नुहुन्छ त्यही गर्नुस् भनेर निर्देशन दिएका छौँ । अनुसन्धानको क्रममा तथ्य प्रमाणले जे देखाउँछ त्यसको आधारमा अभियोजन गर्नुस् भनेका छौँ । यो गर्नुस् त्यो नगर्नुस् भनेर हामी निर्देशन दिने हैनौँ ।’

उनले अगाडि भने–‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कुनै तथ्यले देखाउँछ भने छुट्नेवाला छैनन् । यो कुरा फेरि भन्न चाहन्छु, अनुसन्धानले नदेखाउँदा प्रश्नहरु उठ्न सक्छन् तर अनुसन्धानमा तथ्य प्रमाणले दोषी देखापर्छ भने कोही छुट्दैन, कोही उम्किन पाउँदैन ।’ मन्त्री श्रेष्ठले कुनै हालतमा पनि दोषीलाई उम्किन नदिने बताएका छन् ।