• बैशाख २२ २०८३, मंगलवार

बैठकमा पार्टी नेतृत्वविरुद्ध गर्जीए जनार्दन

श्रावण २० २०८०, शनिबार

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले अध्यक्ष पुष्पकमल दाहाललाई असहयोग नगरेको प्रस्टीकरण दिएका छन् । काठमाडौँ जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा अध्यक्ष दाहाललाई आफूले सहयोग गरेको तर गलत प्रचार गरेको उनको गुनासो थियो ।

‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु,’ शर्माले केन्द्रीय समिति बैठकमा भने, ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’

उनको थप गुनासो थियो, ‘अध्यक्ष कमरेडले भन्नुर्पयो–कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्यो होला ।’

आफू सधैँ अध्यक्षकै रहेको तर २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारेकोमा शर्माले असन्तुष्टि व्यक्त गरे ।’ सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?,’ शर्माले प्रश्न गरे ।