काठमाडौं । भर्खरै सम्पन्न नेकपा (एमाले)को सचिवालय बैठकले उमेरहद हटाउने निर्णय गरेको छ । उक्त बैठकले कार्यकारी कमिटीका पदाधिकारीहरूको हकमा लागू हुने ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको हो ।
नवौँ राष्ट्रिय महाधिवेशनदेखि लागू गरिएको सोही उमेरहद सचिवालय बैठकले हटाउने निर्णय गरेको छ । नवौँ महाधिवेशनको निर्णयअनुसार दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेले आफ्नो नेतृत्व चयन गरेको थियो ।
चितवनमा २०७८ मंसिर ११ देखि १८ सम्म भएको दशौँ राष्ट्रिय महाधिवेशनमा मुख्य नेतृत्व अर्थात् अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा ओलीले रावललाई पराजित गरेका थिए ।
त्यतिबेला रावल ७० वर्ष नपुगे पनि ओली ७० वर्ष पुगिसकेका थिए । ओली ७० वर्ष पुगेकै आधारमा अध्यक्ष पदका लागि निर्वाचन लड्न पाएका थिए । तर, यहीँ जेठ १९ मा बसेको एमाले सचिवालय बैठकले उक्त उमेदहद हटाउने निर्णय गरेको छ ।
यदि यो निर्णयको विरोध भएन र कार्यान्वयनमा आयो भने ७० वर्ष नाघेका बृद्धबृद्धा नेताहरू सचिवालयको निर्णयबमोजिम नेतृत्व दाबी गर्न पाउनेछन् । यद्यपि यो निर्णय कार्यान्वयनका लागि एमालेले विधान महाधिवेशनमा लैजानुपर्ने व्यवस्था छ ।
एमालेको विधानको धारा ६४ मा कार्यकारी तहका पदाधिकारी निर्वाचित हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था नवौँ महाधिवेशनदेखि लागू गरिएको हो ।
ओलीकै निरन्तरताको संकेत :
एमाले सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाएसँगै अध्यक्ष ओलीलाई सहज हुने कतिपयको ठम्याइ छ । सत्ता र शक्तिको मोह भंग नभएका ओलीलाई यो निर्णयले राहत पुग्नेछ ।
ओलीलाई यद्धृत गर्दै एक नेताले भने, ‘अध्यक्ष स्वयंले अन्य पार्टीबाट ७० वर्षमाथिका नेताहरूको प्रवेशले विद्यमान व्यवस्था संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । सोही बमोजिम सचिवालय बैठकले उमेरहद हटाउने निर्णयमा पुग्यो ।’
नेकपा (एकीकृत समाजवादी)बाट नेताद्वय मुकुन्द न्यौपाने र प्रेमबहादुर सिंहले एमाले प्रवेश गरेका छन् । यी दुवै नेता ७० वर्षमाथिका हुन् । ओलीले उनीहरूको सहजताका लागि उमेरहद हटाउन लगाएको एक पदाधिकारीले बताए ।
ओलीले नवप्रवेशी न्यौपाने र सिंहको सहजताका लागि उमेरहद हटाएको तर्क गरे पनि अन्ततः आफैलाई सहज हुने निश्चित छ । २०८३ मा हुने एमालेको ११औँ महाधिवेशनमा नवौँ महाधिवेशनको निर्णयअनुसार अधिवेशन भए ओलीलगायत ७० वर्ष कटेका थुप्रै नेता नेतृत्व लिनबाट बञ्चित हुने थिए ।