• बैशाख २७ २०८३, आईतवार

माधव नेपाल, उपेन्द्र यादव र वामदेव गौतम नेतृत्वको पार्टी एकता प्रक्रियामा अलमल

बैशाख ३१ २०८०, आईतवार

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रियामा अलमल देखिएको छ ।

नेपाल, यादव र गौतमको आ–आफ्नै अडानका कारण पार्टी एकता प्रक्रिया अलमल परेको गौतम निकट स्रोत बताउँछ । एकीकृत समाजवादीले एकता प्रक्रिया विलम्ब भएको भन्दै यी दुई दललाई छिट्टो भन्दा छिट्टो पार्टी एकता आह्वान गरेका छन् ।

यद्यपि जसपा र एकता राष्ट्रिय अभियानले भने पार्टीको सांगठानिक संरचना र सैद्धान्तिक बहसलाई टुंगोमा पुर्याउनुपर्ने अडान राखेका छन् । तर, एकीकृत समाजवादीले भने यो प्रक्रियालाई टुंगोमा पुर्याउनु पहिले नै पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु पर्ने धारणा राखेका छन् ।

एकता पश्चात् तीन पार्टीको सांगठानिक संरचना माथिदेखि तलसम्म व्यवस्थापन गर्नुपर्ने नेपालको तर्क छ । त्यस्तै सबै पार्टीको सैद्धान्तिक संरचना पनि एकता पश्चात् नै तय गर्नुपर्ने एकीकृत समावादीले बताएको छ । तथापि उसको यो धारणाप्रति जसपा र एकता राष्ट्रिय अभियान सहमत छैनन् ।

उपेन्द्र यादव र वामदेव गौतमले पार्टी एकता गरे पश्चात् बन्ने पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा पनि नेपालको स्पष्ट धारणा नभएको स्रोत बताउँछ । स्रोतका अनुसार एकतापछि बन्ने पार्टीको नेतृत्व नेपाल आफैले गर्ने मनसाय बनाएका छन् ।

यस विषयमा गम्भीर छलफल गरेर मात्रै कसले पार्टीको नेतृत्व गर्ने भन्ने निष्कर्षमा पुग्ने यादव र गौतमको धारणा छ । तर, जसपा र एकता राष्ट्रिय अभियान भन्दा ठूलो दल एकीकृत समाजवादी भएकोले नेपालले नै अब गठन हुने नयाँ पार्टीको नेतृत्व गर्ने निश्चित छ ।

यस विषयमा यादव र गौतम भित्रभित्रै सहमत भएपनि बाहिर भने सहमत देखिएका छैनन् । किनकि उनीहरुले सर्वप्रथम माथिदेखि तलसम्म तीनै दलको सांगठानिक संरचना, पदिय दायित्व र जिम्मेवारी मिलान गरेर मात्रै पार्टी एकता गर्ने र नेतृत्व चयन गर्ने धारणा बनाएका छन् ।

यतिमात्रै होइन, गौतमले जनताको बहुदलीय जनवाद (जबज)लाई प्रश्रय दिनुपर्ने भन्दै अडान कसेका थिए । तर, नेपाल र यादव यसमा सहमत नदेखिएपछि उनी पछि हटेका छन् भने यादवले आफूहरु संघीयता पक्षधर भएकोले एकतामा अड्चन नहुने तर्क गर्छन् ।

नेकपा (एस) र जसपाबीच एकताको कोर्ष तीन महिना अगाडिदेखि शुरु भएको हो । तर, यसले हालसम्म मूर्तरुप भने पाउन सकेको छैन । यद्यपि पार्टीका शीर्ष नेताबीच भेटवार्ता र छलफल भने जारी छ ।

त्यस्तै पछिल्लो चरणमा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकताको तयारी शुरु भएको छ । एकताका लागि केही दिनअघि नेपाल र गौतमबीच पनि भेटवार्ता भएको छ । एकताका लागि दुवै दल सकारात्मक भएको बताइएको छ ।