• जेष्ठ ६ २०८१, आईतवार

पक्षघातका विरामीलाई थेरापीमार्फत् पुनर्ताजकी गराउन सकिन्छ : नमूना शर्मा, न्यूरोफिजीयोथेरापिस्ट

चैत्र २७ २०७९, सोमबार

(विविध कारणले बढ्दै गइरहेको विरामीहरुको संख्याले नेपालीलाई चिन्तित बनाएको छ । अज्ञानतावस वा अनायासै आइपर्ने विभिन्न घटनाक्रमहरुले मानिसहरुलाई अस्वस्थ्य बनाइरहेको छ । विभिन्न कारणले भएका विभिन्न विरामीहरुको उपचार गर्ने तरिका पनि विभिन्न छन् । यसैगरी शरीरको कुनैपनि अंगको पक्षघात भएका वा चोटपटक लागेर भएका विरामीहरुको उपचार गर्ने विधि पनि छन् ।

सामान्यतया मानिसहरुलाई थेरापी विधिबाट पनि उपचार गरिन्छ भन्ने पूर्ण जानकारी नहुन सक्छ । फिजीयोथेरापी विधिबाट पनि शरीरको पक्षघात भएका वा चोट लागेर अशक्त भएका विरामीहरुको शरीरलाई पहिलेकै अवस्थामा या सामान्य अवस्थामा लैजान सकिन्छ भन्ने कुराको जानकार सबै हुँदैनन् । त्यसकारण खासमा यो फिजीयोथेरापी विधि भनेको के हो भन्ने विषयमा हामीले यो पटक पोखरा विश्वविद्यालयकी न्यूरोफिजीयोथरापिस्ट नमूना शर्मासित यसका बारेमा छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश

प्रश्न : नेपाल जस्तो अर्धशिक्षित देशमा फिजियोथेरापीको महत्वलाई कसरी बुझाउने होला ?

उत्तर :  हो, धेरैलाई फिजियोथेरापीको बारेमा ज्ञान छैन वा थोरैलाई मात्र यसको बारेमा थोरै ज्ञान छ र त्यसले पुगिरहेको अवस्था छैन । यो यस्तो भौतिक चिकित्सा विधि हो, जसमा हामीले शारिरीक अभ्यासको माध्यमबाट कुनै पनि रोगको उपचार गर्ने गर्छौं । नसाको समस्या, कुनै शरीर नचल्ने समस्याहरु छन् भने हामीले एक्सरसाइजको माध्यमबाट विरामीलाई  पुनर्ताजकी बनाउँछौं । यसलाई फिजियोथेरापी भनिन्छ । विरामी भएको मानिसलाई मात्र होइन विरामी नभएको मानिसलाई फिजियोथेरापी गर्न सकिन्छ ।

प्रश्न : उसो भए जिम गर्नु पनि स्वास्थ्यको लागि राम्रो नै हो ?
उत्तर : जिम गर्नु स्वास्थ्यको लागि राम्रो हो । यसले शरीरको बनावट नियन्त्रण गर्दछ । रगत र स्वासप्रस्वास प्रणालीलाई ठिक राख्न जिमले सहयोग गर्छ । मांसपेसीलाई बलियो बनाउने पनि गर्दछ । सुन्दर देखिनका लागि पनि जिम गर्ने गरेको पाइन्छ । यसले मानसिक तथा शारिरीक रुपमा फाइदा पुग्दछ ।

प्रश्न : पक्षघात भएका विरामीलाई थेरापीको माध्यमबाट कसरी उपचार गर्नुहुन्छ ?
उत्तर : पक्षघात भएकालाई न्यूरोफिजियोथरापी गर्नुपर्दछ । थेरापी बालबालिकाको लागि पनि हुन्छ । महिलाको लागि पनि हुन्छ । म विशेषगरी न्यूरोथेरापिस्ट भएकोले मैले भन्ने कुरा के हो भने फरक फरक रोगलाई निको पारेर शरीरलाई पुनरताजकी गर्नका लागि फरक फरक तरिकाको थेरापी गर्नुपर्ने हुन्छ । त्यसका लागि विरामी वा फिजियोथेरापी गर्न चाहनेहरुका लागि त्यसको बारेमा जानकारी दिनु हाम्रो उद्धेश्य हो । जस्तैः कसैलाई मष्तिश्कघात भयो भने मुटुको धमनी वा दिमागमा त्यसको लक्षण देखिन्छ । त्यसो भएका कसैको बोली जान्छ, कसैको हातखुट्टा नचल्ने हुन्छ । यस्तो अवस्थामा सुरुमा अस्पतालमा नै उपचार गर्नुपर्दछ । रक्तचाप जाँच्नेदेखि सबै सबै तरिकाले डाक्टरहरुले चेकजाँच गर्नुहुन्छ र औषधि चलाउनु हुन्छ । जब डाक्टरले विरामीको लागि गर्नुपर्ने कामहरु गरिसक्नुहुन्छ तब विरामीलाई फिजियोथेरापी गर्नुपर्दछ । विरामीको शरीरका नसा तथा मांसपेसीहरु नखुम्चियोस् भनेर फिजीयोथेरापी गर्ने हो ।

थेरापी गर्नुपर्ने चरण पार भएपछि उसलाई हिंडाउने, शारिरीक सन्तुलनका लागि सानो सानो तालिमहरु पनि गराउँछौं । यसकारण डाक्टरहरुले मेडिकलको तरिकाले विरामीलाई पुनरताजकी गराइदिनु हुन्छ तर यत्तिले मात्रै विरामी उठेर हिँडिहाल्छ भन्ने हुँदैन । त्यसैले मानौं कसैको आधा शरीर पक्षघात भयो र डाक्टरले उसको उपचार त गर्नु भयो तर उपचार गर्दाबित्तिकै त विरामी उठेर हिंड्न सक्दैन । हो त्यस्तोलाई हिंड्न, उठ्नका लागि हामीले फिजीयोथेरापी गरिदिने हो । अलिअलि हिंड्न सक्नेलाई हामीले थप हिंड्न सक्ने बनाउने हो । जस्तै २ वर्षमा हिंड्नु पर्ने बच्चा ४ वर्षमा पनि हिंडेन भने हामीले फिजीयोथेरापी गरेर उसलाई हिंड्न सहयोग गरिदिने हो । त्यसका लागि हामीले बच्चा र यसको आमाको समेत विगतको सबै जानकारी लिनु पर्ने हुन्छ । अनि मात्र उसको इतिहास थाहा भयो भने उसलाई कस्तो तरिकाले थेरापी गर्ने भन्ने थाहा हुन्छ । ऊ जन्मिने बेला नाल बेरिएको थियो की थिएन ? सुत्केरी हुने समयमा आमालाई ज्वरो आएको थियो कि थिएन ? भन्ने जस्ता कुराले बच्चालाई पछि असर गर्ने अवस्था आइदिन सक्छ । बच्चा जन्मेपछि पनि उसलाई जन्डिस हुनसक्छ । यस्तो अवस्थामा बच्चाको शारिरीक वृद्धि कम हुनजान्छ । त्यसका कारण यस्ता कारणहरुले २ वर्षमा हिंड्नु पर्ने बच्चा ४ वर्षसम्म पनि नहिंड्न सक्छ । यस्तो अवस्थालाई सुधार्न र बच्चालाई छिटो हिंडाउनका लागि त थेरापीको माध्यमबाट यसको उपचार गर्नुपर्दछ । यो मैले एउटा उदाहरण दिएकी हुँ । यसैगरी कुनै दुर्घटनाबाट कुनै अंगहरु नचल्ने भएकाहरुलाई पनि थेरापीको माध्यमबाट पूरा हिंड्न सक्ने बनाउन सकिन्छ ।

प्रश्न : तपाईं एकजना प्राध्यापक भएको हिसावले के राज्यले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने लगानी गरेर जनताको स्वास्थ्यमा ख्याल गरिरहेको छ जस्तो लाग्छ ?

उत्तर : मुख्य कुरा शिक्षा हो । त्यसकारण सुरुमा शिक्षालाई जोड दिनु पर्दछ । त्यसपछि मात्र अरु कुराहरु आउँदछन् । नेपालमा फिजीयोथेरापी भन्ने धेरै विकास भइनसकेको अवस्था छ । तर पनि विगत १० वर्षजतिदेखि यो क्षेत्रले फड्को मार्दैछ । जस्तै,  फिजीयोथेरापी पढ्न म भारत गएँ । किन कि त्यतिबेला नेपालमा पढाई सुरु भएको थिएन । पोखरा विश्वविद्यालयमा सन् २०१८ देखि यो विषयमा पढाउन सुरु भएको हो । काठमाडौं विश्वविद्यालयबाट अब त सम्बन्धन प्राप्त गरेर यो विषयमा पढाई भइरहेको छ । यो पढ्ने विद्यार्थीको संख्या पनि बढिरहेको छ । राज्यले पनि हाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट भर्ना लिएर छात्रवृत्तिमा पढाइरहेको पनि छ । यसलाई अझ बढाएर लैजानु पर्दछ ।