दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले भारतसितको सीमा समस्या कुटनीतिक रुपमा समाधान गर्नुपर्ने बताएका छन् । सुस्ता लगायतका सीमाक्षेत्रमा बेलाबेलामा देखिने समस्याहरु दुई देशबीच कुटनीतिक रुपमा समाधान गर्न आफूले सक्दो पहल गर्ने बताए ।
राष्ट्रिय स्वाभिमान अभियन्ताका गोपाल गुरुङको श्रद्धाञ्जलिसभालाई सुस्तामा सम्बोधन गर्दै सभामुख घर्तीमगरले सीमा क्षेत्रका बासिन्दाहरु राष्ट्रियताप्रतिको भावनाबाट बढी ओत्प्रोत भएको आफूले पाएको बताउँदै उनले जंगे पिल्लरको रूपमा सुस्ताबासी रहेको बताए ।
दिवंगत गुरुङ सुस्ता बचाउ अभियानका अध्यक्ष हुँदा सुस्ताका जनताको शिक्षा, स्वस्थ्यको पहुँचमा सरकारसँग पुलका रुपमा पहल गरेको बताउँदै उनले सुस्ताको विकासको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नागरिकता र लालपुर्जाको समस्या समाधानको लागि नीतिगत रुपमा पहल गर्ने बताए ।
सभामुख घर्तीमगरले शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरेका थिए । २०७९ पुस ८ गते घरमै मस्तिष्कघात भएर बिरामी परेपछि गुरुङको उपचारकै क्रममा २०७९ माघ १० गते निधन भएको थियो । यसैबीच गुरुङको स्मृतिमा निर्माण गर्न लागिएको स्मृतिद्वारको सभामुख घर्तीमगरले शिलान्यास समेत गरेका थिए ।