काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने संकेत गरेको छ । सरकारमा बस्ने र नबस्ने बारे निर्णय गर्न रास्वपाले बिहीबार दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउने भनिए पनि बैठक डेढ घण्टा पछि सरेको छ ।
‘अहिलेको जसरी राजनीति बढिरहेको छ । त्यो हामीले चाहेजसरी भइरहेको छैन । आजको बैठकबाट सरकारबाट बाहिरिने निर्णय हुन्छ होला,’ रास्वपाका एक पदाधिकारीले भने ।
आजै रास्वपाका सभापति रवि लामिछानेले पनि सरकारबाट बाहिरिने संकेत गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अब मौन नबस्ने बताएका छन् । लामिछानेले आफू अभिमन्यु नभएको पनि बताएका छन् ।
अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन् । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन । त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो ।
तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन् ।
उनले लखेका छन्,‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।
रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।
‘अहिले जसरी चलिरहेको छ । हामी त्यसरी चल्न सक्दैनौं,’ ढकालले भने,‘हाम्रो सभापति रवि लामिछाने पनि सम्झौताको राजनीतिमा कति दिन बस्ने भन्नेमा पुग्नुभएको छ । आज हामी महत्वपूर्ण निर्णय गर्छौं ।’
संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबन्डामा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । सोही अनुसार सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए । उनको पुरानो नागरिकता कायम नभएकाले सांसद पद बदर हुने र्सोेच्चको फैसलापछि उनको पद गुमेको थियो ।
आफूलाई फेरि गृहमन्त्री बनाउन लामिछानेले पहल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय आफैसँग राख्ने बताएपछि रास्वपा प्रधानमन्त्री प्रचण्डसँग रूष्ट बनेको छ । सांसद नरहेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन लागेको भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेको छ ।