• जेष्ठ ८ २०८३, शुक्रबार

६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने सरकारी नीतिको विरोध

माघ १९ २०७९, बिहीबार

काठमाडौं। प्रगतिशील नेपाल स्वतन्त्र यातायात मजदुर युनियनले सवारी चालकको चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने सरकारी नीतिको विरोध जनाएको छ । बिहीबार युनियनले राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त सरकारी नीतिको विरोध जनाएको हो ।

मजदुर युनियनले सवारी तथा यातायात व्यवस्था ऐन र नियमावली १६४ को उपदफा ४ लाई अक्षरंश कार्यान्वयन, सामान्य कमजोरीमा नै चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने विनियम तत्काल खारेज, हालसम्म ६ महिने निलम्बनमा पारिएका चालकको आश्रित परिवारलाई आवश्यक दैनिक गुजाराको व्यवस्था र रिङरोड वरिपरि यातायात संचालन गर्ने यातायात श्रमिकको लागि शौचालयको व्यवस्थालगायतका माग राख्दै पत्रकार सम्मेलन गरिएको हो ।

पत्रकार सम्मेलनमा यातायात क्षेत्रका मजदुरहरू यातायात व्यवस्था कार्यालय र विभागको गलत नीतिको शिकार बनिरहेको बताएका छन्।
मजदुर युनियनले दुर्घटना न्यूनीकरणको नाममा झण्झटिलो ट्राफिक नियमावलीको कारण दैनिक रूपमा दशौं यातायात मजदुर कामविहीन हुनुपरेको भन्दै पाँचपटक ट्राफिक नियमावली अन्तर्गत कारबाही परेका यातायात क्षेत्रमा समर्पित चालकको चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने सरकारी नीतिको कारण हालसम्म सयौँ चालकहरू बेरोजगार हुनुपरेको बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वतन्त्र यातायात मजदुर युनियनकी उपाध्यक्ष सुस्मिता लामिछानेले सरकारले ल्याएको लाइसेन्स खारेजीको माग गरिन् ।