काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालयका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको पक्षमा अभिव्यक्ति दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष लामिछानेलाई नै पुनः गृहमन्त्री बनाउन दबाब दिँदै आएका उनले बिहीबार सार्वजनिक रुपमै आफ्नो धारणा स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले पूर्णपाठ नआएसम्म गृह मन्त्री नदिने अडान लिएको सन्दर्भमा ओलीले त्यसको प्रतिवाद गरेका छन् । पूर्णपाठ सन्दर्भमा विराटनगरमा ओलीले प्रतिवाद गरेका छन्। उनले भने, ‘पूर्णपाठ किन चाहियो? कण्ठ गर्ने हो र पूर्णपाठ?’
‘कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो। हामीले गृह मन्त्रालयको उसलाई दिएका हौँ। त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो। त्यसअनुसार बनाएका हौँ,’ बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, -फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो। हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ।’