कठमाडौं । २० देखि ५९ उमेर समूहका चोरी तथा अवैध कारोबारमा संलग्न १० जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशका छुट्टाछुट्टै स्थानबाट ती अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सप्तरीमा डिजेल लोड भएको ट्याङकर चोरीको घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई अभियुक्तलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
डिजेल लोड भएको टयाङ्कर चोरी गरी डिजेल बेच्ने कञ्चनरूप नगरपालिका–९ बस्ने २९ वर्षीय नवराज भुजेल र चोरीको डिजेल खरीद गर्ने खडक नगरपालिका–७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्यामकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपो बाराबाट माघ ११ गते बिहान को.१ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी राखिएको थियो ।
१ नम्बर प्रदेश प्रादेशिक कार्यालय विराटनगरतर्फ लैजाने क्रममा टयाङ्करका चालकले माघ ११ गते साँझ कञ्चनरूप नगरपालिका–८ स्थित रहेको बिकि पम्पमा पार्किङ्ग गरी राखेका थिए ।
त्यसपछि उनी आफ्नो घर गएकोमा उक्त ट्याङकर चोरी भएको र माघ १५ गते बिहान शम्भुनाथ नगरपालिका–२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको थियो । यो खबर प्रहरीले प्राप्त गर्नासाथ टयाङ्कर जाँच गर्दा टयाङ्करको ५ वटा च्याम्बरमा रहेको २० हजार लिटर डिजेलमध्ये १६ हजार लिटर चोरी भएको अवस्थामा फेला पारेको थियो ।
घटनाको आवश्यक अनुसन्धानको क्रममा नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नवराज भुजेलसमेतले माघ १४ गते राति पार्किङ्ग गरेको स्थानबाट डिजेल लोड भएको टयाङ्कर चोरी गरी १६ हजार लिटर डिजेल बिक्री गरेको र श्याम कुमार साहले चोरी भएको डिजेल खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर चोरी मुद्दा शीर्षकमा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीमा अवैध रूपमा यार्सागुम्बा कारोबार गरेको अभियोगमा २ किलो १ सय ३८ ग्राम यार्सागुम्बासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार उनीहरूलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको हो ।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका पाँगा बस्ने २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने ४० वर्षीय गोविन्द गिरीलाई प्रहरीले नियन्त्रणमा एिलएको छ ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये प्रकाशलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट नियन्त्रणमा लिएको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारकाठमाडौं पठाइएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिमन १९ क्याप्सुल, नाईट्राभेट १ ट्याब्लेट र १ सिसि कोरेक्ससहित गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदसमेत ८ जनालाई हिजो (मंगलबार) राति प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी नियन्त्रणमा लिएको छ ।
मोरङ, विराटनगर महानगरपालिका–१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नजाम खानलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी नियन्त्रणमा लिएको छ । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध विराटनगर महनागरपालिका–१४ बस्ने ३१ वर्षीय अमरनाथ यादवले ल्याउन लगाएको भनी खुल्न आएपछि यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, विर्तामोड नगरपालिका–९ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद १० हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन आले मगर समेत २ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१६ बाट लागूऔषध नुर्फिन ६० एम्पुल, फेनारगन ६० एम्पुल र डाईजेपाम ६० एम्पुलसहित गैंडाकोट नगरपालिका–७ बस्ने २४ वर्षीय रमेश बिश्वकर्मा समेत २ जनालाई हिजो (मंगलबार) राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्र.०३–००१ प ७२४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला परी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुरमा १४ वर्षीया २ जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका–४ बजारस्थित समाज कल्याण बाल अनाथालयका कर्मचारी ५९ वर्षीय शंकरबहादुर चन्दलाई हिजो (मंगलबार) बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्दले ती बालिकाहरूलाई विगत ३÷४ महिनादेखि जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बस्ने ५४ वर्षीय खेमराज सापकोटालाई चित्तलको छाला २ थानसहित मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । सापकोटाको घरमा चित्तलको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त छाला फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।