काठमाडौं । प्रतिनिधि सभा सदस्यतर्फ चितवन–२ रिक्त रहेको जानकारी संसद्लाई गराइने भएको छ। बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन–२ रिक्त रहेको जानकारी गराउने कार्यसूची छ।
सर्वोच्च अदालतले चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद खारेज गरेपछि उक्त क्षेत्र रिक्त छ।
‘सम्माननीय सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनु हुने’, संघीय संसद्का महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेस गर्ने कार्यसूची छ।
