काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोंकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ ।
सो पार्टीका नेता मातृका यादवले मंगलबार एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिंदै रास्वपा आफूले गृह मन्त्रालय नै नपाउँदैमा सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताएका हुन् ।
‘हामीलाई २ वटा पार्टी बाहेक सबैको समर्थन छ । एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन । सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म हामीले कुर्नुपर्छ ।’ उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए । ‘अहिलेको अवस्थामा गृह मन्त्रालय रास्वपालाई दिन सकिँदैन । हामीलाई समर्थनको कुनै कमी छैन,’ उनले भने ।
आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेका थिए । भेटका क्रममा लामिछानेले पहिलाको भागबन्डा अनुसार गृह मन्त्रालय आफूलाई दिन भनेका थिए ।
उनको नागरिकता कायम नरहेको र उक्त नागरिकता पेस गरेर उनले जितेको सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री रहेका लामिछानेको पद गएको थियो । माघ १३ गते गृहमन्त्रीबाट राजीनामा दिएका लामिछानेले माघ १५ मा प्रक्रिया पूरा गरेर पुरानो नागरिकता पुनः प्राप्ति गरेका छन् ।
फेरि नागरिकता लिएकै साँझ लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन अनुरोध गरेका थिए । मंगलबार बिहान बालुवाटारमा भएको भेटमा लामिछानेले आफूले गृहमन्त्री नपाए रास्वपा सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री दाहाल भने लामिछानेलाई फेरि गृहमन्त्री बनाउने पक्षमा छैनन् । मंगलबार दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले लामिछानेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ मान्छे गृहमन्त्री नबनाउने बताएका छन् ।
रास्वपाका एक नेताका अनुसार लामिछानेले सरकारबाट बाहिरिने भने पनि त्यसका लागि अल्टिमेटम भने नदिएको बताए । लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरएको खण्डको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री दाहालले तीस दिनभित्र संसदमा फेरि विश्वासको मत लिनुपर्ने हुन्छ ।