• जेष्ठ ८ २०८३, शुक्रबार

साढे ३ करोड अकुत सम्पति कमाएको अभियोग लागेका इन्जिनियर दोषी ठहर

माघ १६ २०७९, सोमबार

काठमाडौं । विशेष अदालतले करिब साढे ३ करोड रुपैयाँ अकुत सम्पत्ति कमाएको अभियोग लागेका इन्जिनियर दोषी ठहर गरेको छ । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्य दोषी ठहर भएका हुन्।

विशेष अदातले आचार्यसहित उनकी श्रीमती रितादेवी आचार्यलाई समेत दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।

३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई प्रतिवादी बनाउँदै २०७७ असार १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आचार्यले सडक विभागअन्तर्गत बसी गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

उनी सार्वजनिक निर्माण शाखा रुकुममा सव–ओभरसियर पदमा मिति २०४१ असोज १२ गते अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी २०४३ असार २१ गते ओभरसियर पदमा स्थायी नियुक्त भएका थिए। त्यसपछि विभिन्न कार्यालयहरुमा कार्यरत रहँदै २०६४ माघ १ गते इन्जिनियरमा बढुवा भएका थिए। उनी डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत रहेका थिए।

सो क्रममा उनले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घर निर्माण, सवारी साधन खरिद लगायतमा खर्च, लगानीका साथै स्रोत नखुलेको रकमहरु समेत अस्वभाविक मात्रामा बैकिङ कारोबार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी सेयर लगानी लगायतका आफू अनुकूल लगानी खर्च गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

उनले सेवा प्रवेशदेखि २०७६ जेठ मसान्तसम्मको अवधिमा सार्वजनिक सेवामा रही २ करोड ७ लाख ८९ हजार ९८६ रुपैयाँ बैधानिक आय आर्जन गरेको देखिन्छ। तर उक्त अवधिमा उनले ५ करोड २९ लाख ४२ हजार ४६६ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको थियो।

यसरी ३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ अकुत सम्पत्ति कमाएको र उक्त सम्पत्ति श्रीमती रितादेवीको नाममा समेत राखेको पाइएपछि दुबै जनालाई प्रतिवादी बनाएर सोही बराबरको बिगो र कैदको माग गर्दै भ्रष्टाचारको कसुरमा मुद्दा चलाइएको थियो। उक्त मुद्दाको फैसला गर्दै विशेषले दोषी ठहर गरेको हो।