काठमाडौं । एमालेबाट राजीनामा दिएपछि नेकपा एकता राष्ट्रिय अभियान पार्टीको संयोजक बनेका नेता वामदेव गौतमलाई नेकपा (एकीकृत समाजवादी)मा ल्याउने प्रयास गरिएको छ ।
मंगलबार भएको भेटवार्तामा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गौतमलाई पार्टीमा आउन आग्रह गरेका थिए । एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा सो भेटवार्ता भएको थियो । गौतमलाई पार्टीमा ल्याउन प्रयास भइरहेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
उनका अनुसार पार्टी स्थापनाकालदेखि नै गौतमलाई एकीकृत समाजवादी ल्याउने प्रयास भइरहेको हो । उनले वैचारिक राजनीतिक प्रस्ट नभएकाले पार्टीमा नआउने बताउँदै आएका छन् । मंगलबारको भेटवार्तामा गौतमले एकीकृत समाजवादीका नेताहरूलाई आफूले तयार पारेको राजनीतिक दस्तावेज हस्तान्तरण गरेका छन् ।
‘उहाँलाई पार्टीमा ल्याउन लागेका हौँ । पार्टी स्थापनादेखि नै उहाँलाई ल्याउने प्रयास भएको हो । वैचारिक राजनीतिक कुरा प्रष्ट नभईकन आउँदिनँ भन्नुभएको थियो,’ तुलाधरले भने,‘अहिले उहाँले धेरै कुरामा स्पष्ट भएर उहाँले एउटा फाइनल दस्ताजवेज पार्टीलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले दस्तावेज अध्ययन गर्नुस् भन्नुभएको छ । उहाँले भनेका कुरामा हामी सहमत छौँ ।’
गौतम केही दिनमा नै पार्टीमा आउने विश्वास उनले व्यक्त गरे । “अबको केही दिनमा नै फाइनल हुन्छ होला । उहाँ आउनुहुन्छ भन्नेमा हामी आशावादी छौँ,” तुलाधरले भने । तुलाधरका अनुसार नेकपा (माओवादी केन्द्र), जनता जसपालगायत दलसँग पछि पार्टी एकता गर्ने गरी अहिले मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ ।
यस्तै, लोसपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत दलका नेतासँग पनि औपचारिक एवं अनौपचारिक रूपमा मोर्चाबन्दीका लागि छलफल भइरहेको बताइएको छ ।