काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूले गृह प्रशासनकै अघि युवाले पेट्रोल छर्केर जल्दा समेत राज्य कानमा तेल हालेर बसेको आरोप लगाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले सुन्दर सपना बोकेको युवा जल्दा समेत राज्य निरिह बन्न पुगेको उल्लेख गरेको छ ।
‘देशकै अत्यन्त संवेदनशील क्षेत्र संसद भवनका अगाडि एउटा नागरिकले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति बन्दै गर्दा समेत यो राज्य कान सुन्दैन, आँखा देख्दैन, मस्त सुतिरहन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘गृह प्रशासनको आँखै अगाडि एउटा सुन्दर सपना बोकेको युवा जलिरहन्छ तर सुरक्षा निकाय, गृहमन्त्रालय न त त्यो युवाको सुन्दर सपनालाई साकार बनाउन सक्छ न त भौतिक शरीरको रक्षा गरेको छ ।’
हावादारी, उडन्ते र कस्मेटिक गृहमन्त्रीबाट नागरिकको जीउधनको सुरक्षाको ग्यारेन्टी हुने आधार नभएको अनेरास्ववियूले आरोप लगाएको छ । राज्य गैरजिम्मेवार बनेका कारण होनहार युवाहरु अकालमै ज्यान गुमाइरहेको बताएको छ ।