• जेष्ठ ८ २०८३, शुक्रबार

अख्तियारले समातेका बिमानस्थलका व्यवस्थापन प्रमुखको कार्यकक्षबाट ८ लाख नगद र बिदेशी ब्रान्डका मदिरा बरामद

माघ १० २०७९, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेका त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडालको कार्यकक्षबाट स्रोत नखुलेको रकम र बिदेशी ब्रान्डको रक्सी बरामद भएको छ ।

नियन्त्रणमा लिइसकेपछि चुँडालको कार्यकक्षमा पनि अख्तियारको टोलीले छापामारेको थियो। त्यसक्रममा उनको कार्यकक्षमै रहेको स्टिलको दराजभित्र खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि अख्तियारले बरामद गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

त्यसैगरी त्यही दराजबाट अख्तियारको टोलीले विभिन्न ब्राण्डका ९ बोतल मदिरा पनि नियन्त्रणमा लिएको छ। जसमा ब्ल्याक लेबल ५ वटा, डबल ब्ल्याक लेबल १ वटा, चिभास रिगल १ वटा, ग्लेनफिड्च १ वटा र गुर्खाज एन्ड गन्स १ वटा रहेका छन।

विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पाउने पास उपलब्ध गराएबापत चुँडालले मासिक १० हजारका दरले घुस नै लिने गरेको उजुरी परेपछि अख्तियारको टोलीले सोमबार छापा हानेको थियो । चुँडाललाई तत्कालै अख्तियारको टोलीले पास उपलब्ध गराइदिए वापत लिएको एक लाख ५० हजार रुपैयाँ घुससहित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता भण्डारीका अनुसार हवाई टिकट काटिदिएका यात्रुहरुलाई आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनेर प्रतिमहिना १० हजारका दरले २०७८ कात्तिकदेखि लिँदै आएको १५ महिनाको एकमुष्ट एक लाख ५० हजार रुपैयाँ लिएका थिए ।