• जेष्ठ ८ २०८३, शुक्रबार

नेपाली जनमत सर्वेक्षणः नेपाली सेनामाथिको विश्वास ९१‍.२ प्रतिशत,राजनीतिक दललाई विश्वास गर्ने न्यून

माघ १० २०७९, मंगलवार

काठमाडौं । हालै एक सर्वेक्षण अनुसार नागरिकहरुले सबैभन्दा बढी सेनामा विश्वास रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

‘नेपाली जनमत सर्वेक्षण, २०२२’ अनुसार, सरकारी र गैरसरकारी संस्थाहरूमा उत्तरदाताको विश्वासको स्तरलाई मापन गर्दा नेपाली सेना भन्नेहरू ९१.२ प्रतिशत, लोकसेवा आयोग भन्नेहरु ८८.८ प्रतिशत, सञ्चार माध्यम भन्नेहरु ८८ प्रतिशत र राजनीतिक दल भन्नेहरु ४४ प्रतिशत पाइएको हो।

सोमबार काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा अच्युत वाग्ले, नेपालका लागि अस्ट्रियाली राजदूत फेलिसिटी भोल्क, नेपालस्थित स्विस राजदूतावासका कार्यवाहक प्रमुख सिल्भाना हग र स्कुल अफ आर्टसका डिन एक्कुमाया पुनले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन्।

सन् २०१७ मा सुरु गरिएको यो सर्वेक्षण सन् २०१८ र सन् २०२० हुँदै चौथो पटक सन् २०२२ मा सम्पन्न भएको हो। सन् २०१८ देखि काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्सको समग्र नेतृत्वमा इन्टरडिसिप्लिनरी एनालिस्ट्स (आईडीए) र स्थानीय सरकार सबलीकरण कार्यक्रमले नेपालका सात प्रदेशका ५८८ वडाहरूमा १८ वर्ष या सोभन्दा माथिको उमेरका ७०६० प्रतिनिधि उत्तरदाताहरूलाई नमुना छनोट विधिका आधारमा चयन गर्दै आएकोमा यस पटकको सर्वेक्षणका लागि विकास र सहकार्यका लागि स्विस संस्थाले पनि सहकार्य गरेको थियो।