काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसित भेटवार्ता गरेकी छिन् । शनिबार अपराह्न सवा ४ बजे राष्ट्रपति भण्डारी भक्तपुरस्थित बिजुक्छेको निवासमै पुगेर भेट गरेकी हुन् । त्यहाँ जानुअघि राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिर दर्शन गरेकी थिइन् । बागमती प्रदेश सांसद तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार उनीहरूबीच करिब ४५ मिनेट वार्ता भएको थियो ।
भेटमा राष्ट्रपति भण्डारीले बिजुक्छेकी दिवंगत श्रीमती शोभाप्रति श्रद्धाञ्जली र उनीप्रति समवेदना समेत प्रकट गरेको गोसाईंले बताए । ‘उहाँले धेरै अगाडिदेखि नै भेट्ने कोशिस गरिरहनुभएको थियो । गत असारमा शोभा भाउजू बित्नुभएको थियो । त्यतिखेर नै आउन खोज्नुभएको थियो तर पाउनुभएको थिएन,’ गोसाईंले भने, ‘सुरूमा समवेदना प्रकट गर्नुभयो । त्यसपछि स्वास्थ्य अवस्थाबारे बुझ्नुभयो ।’ यस्तै अध्यक्ष बिजुक्छेले नेपाली नागरिक कोही पनि औषधिको अभावले ज्यान गुमाउन नपरोस् भनेर कुरा राखेको पनि उनले बताए ।
‘औषधिको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् । नेपालमा विदेशबाट ल्याउनुपर्ने औषधि नपाएर पनि मानिसको ज्यान गइरहेको छ, त्यता सरकारको ध्यान गइरहेको छैन,’ बिजुक्छेका भनाइ उद्धृत गर्दै गोसाईंले भने, ‘यो क्षेत्रमा काम गर्नु आवश्यक छ भनेर अध्यक्षज्यूले राष्ट्रपतिज्यूको ध्यानाकर्षण गराउनुभयो ।’
नेपालमै औषधि उत्पादनमा जोड दिनुपर्ने र औषधि विभागलाई संवदनशील बनाउनु पर्ने कुरा पनि राखेको गोसाईंले बताए । उनका अनुसार राष्ट्रपति भण्डारी कोरोना महामारीका बेलामा आफूले स्वास्थ्य क्षेत्र सुधारमा कोशिस गरेको बारे पनि कुरा राखेकी थिइन् ।
‘कोभिडमा पनि केही गरौं भनेर कोशिस गरेको र केही कमीकमजोरीका कारण खोप उपलब्ध गर्न कठिन भएको कुरा राख्नुभयो,’ राष्ट्रपति भण्डारीका भनाइ उद्धृत गर्दै उनले भने । स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा आफ्नो विशेष रूचि भएको पनि अध्यक्ष बिजुक्छेले बताएका थिए । ३० वर्षदेखि किसानले नपाएको मल उत्पादनको विषयमा कुरा राख्दा पनि सरकारले नसुनेको बिजुक्छेले गुनासो गरेका थिए । कुराकानीकै सन्दर्भमा बिजुक्छेले भक्तपुर दरबार स्क्वायरको पेन्टिङ देखाएर अहिले पनि त्यहाँ टेको लगाइरहेको बारे राष्ट्रपति भण्डारीलाई अवगत गराएका थिए ।
‘भक्तपुर लायकूको टेकोको भरमा छ । आफ्नै आर्थिक स्रोतले उक्त दरबारको निर्माण गर्नतर्फ लाग्नुपर्ने विषयमा पनि अध्यक्षज्यूले ध्यानाकर्षण गराउनुभयो,’ उनले भने, ‘एक अर्ब बढी रकम दिन्छौं भन्दा पनि स्वीकार गरेका थिएनौं । हाम्रो सम्पदा आफैले नै बनाउनुपर्छ भनेर लागेको उनले बताउनु भयो ।’ त्यस्तै अन्तिममा राष्ट्रपति भण्डारीले त्यहाँ पुगेर आफू माइतीमा आएजस्तो अनुभव भएको पनि बताएकी थिइन् ।
‘एकदमै खुसी भएर उहाँले आज मलाई माइती आएजस्तै भयो भन्नुभयो । वरिष्ठ राजनीतिज्ञ, नेपालको कम्युनिस्ट आन्दोलनको अनुभवी, राजनीतिक नैतिकता, इमानदारी, वाम चिन्तक भएकाले उहाँले त्यस्तो भन्नुभयो,’ गोसाईंले भने, ‘नत्र उहाँ निवाससम्मै पुग्नुपर्ने थिएन । आफ्नो पार्टीको पनि होइन । स्वयम् निवासमा पुगेर उहाँले आदर्श प्रकट गर्नुभयो ।’