काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालयमा आज कर्मचारी नियुक्त गरेका छन् । गत बिहीबार प्रधानमन्त्री दाहालले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र दिएका हुन् ।
प्रधानमन्त्री दाहालको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरिएको छ । यस्तै स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुंगाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ ।
प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञ लगायत क्षेत्रमा कसैलाई नियुक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
‘अहिले प्रधानमन्त्री ज्यूको सचिवालयमा सातजनालाई नियुक्त गरिएको छ । अरु आवश्यकता अनुसार कर्मचारी नियुक्त हुन सक्छन्’ ती सचिवालयका सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूको आवश्यकतामा थपघट गर्न सक्नुहुन्छ । अहिले थप्ने वा नथप्नेबारे थाहा छैन ।’
प्रधानमन्त्रीले सचिवालय चुस्त दुरुस्त बनाउने बताएका छन् । सचिवालयमा कर्मचारी भर्तीकेन्द्र बनाउने भन्दा पनि आवश्यक भएका कर्मचारीलाई मात्रै राख्ने योजना बनाएको बताइएको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस ११ गते मात्रै सपथ लिएका थिए ।