• बैशाख २८ २०८३, सोमबार

अब संसदको प्रतिपक्ष म हुन्छु : सागर ढकाल

माघ ४ २०७९, बुधबार

काठमाडौं । प्रतिनिधि सभाको चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवासित डडेल्धुरामा पराजित भएका सागर ढकालले संसद प्रतिपक्षविहीन भएकोले आफूले बानेश्वरबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा संसद भवन बानेश्वरलाई पृष्ठभूमिमा राखेर भिडिओ सार्वजनिक गर्दै ढकालले मन्त्रिपरिषद विस्तार लगायत विषयमा आफ्ना धारणा राखेका छन् ।

उनले अहिलेको मन्त्रिपरिषदमा ९० प्रतिशत सदस्यहरू पुराना भए पनि १० प्रतिशतबाट आफूले केही नयाँ काम हुने आशा गरेको बताएका छन् । रवि लामिछानेलाई शंकाको सुविधा दिएको उल्लेख गर्दै उनले राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री हुनु गलत भएको बताएका छन् ।

‘मैले बानेश्वरको संसद भवनभित्र आफ्ना कुरा राख्ने गरी मत पाइनँ । तर अहिले संसद प्रतिपक्षविहीन भयो,’ ढकालले भने,‘त्यही भएर अब संसद भवनलाई पृष्ठभूमि राखेर समसामयिक विषयमा आफ्ना कुराहरू राख्नेछु ।’