• जेष्ठ ८ २०८३, शुक्रबार

श्रम मन्त्री अर्याल निर्देशक रहेको म्यानपावर विरुद्ध वैदेशिक रोजगार विभागमा पर्यो उजुरी

माघ ४ २०७९, बुधबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मनालाल महतासहित ७ जनाले मलेसियामा रोजगारीमा जाँदा ठगिएको भन्दै श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्ध क्षतिपूर्तिका लागि उजुरी गरेका थिए ।

तर, विभागबाट समयमै सुनुवाइ नभएपछि उनीहरु काठमाडौं धाउन छाडेका थिए । विभागका एक अधिकारीका अनुसार ३० कात्तिक २०७१ मा दर्ता भएको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्धको उजुरी अहिले पनि तामेलीमा छ । तामेलीमा भएपनि उजुरीमाथि अनुसन्धान गर्न बाटो बन्द भएको छैन । उजुरीकर्ताले आवश्यक प्रमाणसहित सम्पर्क गरेमा छानबिन अघि बढ्ने विभागले बताएको छ । विभागका अधिकारीहरुका अनुसार उजुरी दर्ता भएका बेला मुद्दाको चापका कारण विभागले समयमै सुनुवाइ गर्न सकेन । पछि पीडितहरु न्यायको आश मार्दै विभाग धाउन छाडे ।

‘अहिले उनीहरु सम्पर्कमा छैनन्’, ती अधिकारी भन्छन्, ‘यसरी समयमै न्याय नदिएपछि न मुद्दा टुंगियो, न पीडितले न्याय पाए ।’ त्यतिबेला म्यानपावर कम्पनीका सञ्चालक अरु नै भएपनि कम्पनी किनेका नयाँ सञ्चालकहरुले पनि त्यसअघिका जिम्मेवारीहरु बहन गर्नुपर्ने र कुनै दायित्व भए पूरा गर्नुपर्छ । ‘अहिले धेरै म्यानपावरमा सञ्चालकको नाम र स्वामित्व फेरेपछि पुरानो मुद्दा थाहा छैन भन्ने विकृति छ’ विभागका ती अधिकारी भन्छन्, ‘कानुनतः त्यस्तो हुँदैन, इजाजत पत्रवाला विरुद्धको उजुरी फरफारक नभएसम्म जो-जो सञ्चालक बन्छन् जवाफदेहिता र दायित्वहरु उसैको हो ।’

रबि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद समेत बनेका मन्त्री अर्यालको संलग्नता जोडिएको म्यानपावरको विगत पनि विवादरहित थिएन । १५ असार, २०६६ मा रिलायबल इन्टरनेसनल प्रालिका तत्कालिन सञ्चालकहरू देवेन्द्र कार्की, विश्व कार्की र श्रृष्टि इम्प्लोइमेन्ट ओभरसिज प्रालिका तत्कालीन सञ्चालकहरू ध्रुवबहादुर अधिकारी, सह-सञ्चालक दीपसुन्दर ढकाल, सञ्चालक दुर्गाबहादुर कुँवर र सो म्यानपावरका तत्कालीन स्टाफ राजेश गौतमविरुद्ध पनि विभागमा ठगीको उजुरी परेको थियो ।

दुबईमा रोजगारीका लागि पठाइदिन्छौं भनेर ७८ लाख रुपैयाँ लिएर चक्रबहादुर बोहरासमेत ७० जनालाई नक्कली भिजिट भिसा र दुबईको नेपाली राजदूतावासको प्रथम सचिवको सही भएको कागज देखाएर झुठो आश्वासन दिएको उजरीमा उल्लेख थियो । तर, विदेश पठाउन आलटाल गरेपछि श्रृष्टि इम्प्लोइमेन्ट प्रालिका सञ्चालक फरार भएको भन्दै सक्कल राहदानी र सावाँ रकमसमेत ठगी खाने नियत देखाएको उजुरीमा दावी गरिएको थियो ।