काठमाडौं । नेपाल तरुण दलका महामन्त्री भूपेन्द्र जंग शाहीले सरकारले चार–चार जना उपप्रधानमन्त्री बनाएर रमिता देखाउन लागेको बताएका छन् ।
मंगलबार मन्त्रीमण्डल विस्तारका क्रममा थप एक जना उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै शाहीले देश आर्थिक संकटमा परिरहेका बेलामा आर्थिक व्ययभार घटाउनुपर्ने ठाउँमा झन् ४/४ जना उपप्रधानमन्त्री बनाएर के रमिता देखाउन लागेको भन्दै प्रश्न गरेका छन् ।
‘देशमा आर्थिक सङ्कट छ, व्यपार व्यवसाय सुस्त छ, विकास आयोजनाको लागि बजेट छैन यति मात्रै होइन कर्मचारीहरुलाइ तलब खुवाउन पनि गार्हो छ।यस्तो बेला सरकारी खर्च कटौती गरेर आर्थिक व्ययभार कसरि कम गर्ने भनेर सोच्नु पर्ने सरकार उल्टै राज्यलाई थप बोझ पर्ने गरि उपप्रधानमन्त्रीको जुलुस निकाल्न मिल्ने गरि चार–चार जना उपप्रधानमन्त्री बनाएर सरकारले के रमिता देखाउन खोजेको होला ?’ शाही प्रश्न गर्छन् ।
प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल विस्तारका क्रममा चार राजनीतिक दलका चार जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । विस्तारित मन्त्रीपरिषदमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री छन् भने १५ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।