काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान आइतबार बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । क्याप्टेन कमल केसी नेतृत्वको चालक दलले उडाएको जहाज १०ः५० बजे अन्तिम पटक पोखरा टावरसँग सम्पर्कमा आएको थियो ।
सेती खोंचबाट सम्पर्कमा आएको एक मिनेटभित्रै दुर्घटना भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ । सो कार्यालयका एक अधिकारीका अनुसार क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रन वे ३० मा ल्याण्ड गर्न आग्रह गरेका थिए तर, केसीले अर्को रन वे मागेको ती अधिकारीले बताए ।
‘रन वे थ्री जेरोमार्फत् ल्याण्ड गर्न भन्दा क्याप्टेनले होइन १२ बाट आउँछु भनेर अर्को रन वे खोजेका रहेछन्’, ती अधिकारीले भने, ‘अर्को रन वेबाट आउन क्लियरेन्स दिने बित्तिकै दुर्घटना भयो ।’
दुर्घटना के कारण भयो भन्ने अहिलेसम्म खुलेको छैन । दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । तीमध्ये ६८ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । अन्यको शव खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छ । विमानमा १५ जना विदेशी नागरिक थिए ।
तीमध्ये ५ भारतीय, ४ रुसी, कोरियाका २ र आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक–एक नागरिक विमानमा थिए ।