• जेष्ठ १७ २०८३, आईतवार

मोक्ष प्राप्ति गर्न पितृ र चेलीबेटीको पूजा, मगर समुदायको महत्वपूर्ण पर्व- माघे संक्रान्ति

पुष ३० २०७९, शनिबार

काठमाडौं । भोलि माघे संक्रान्ति अर्थात् थारू, मगर लगायत आदिवासी जनजाति र अन्य विभिन्न जातजातिको महत्वपूर्ण पर्व हो, –‘माघे संक्रान्ति !’ यो पर्व देशका पूर्वी, पश्चिमी पहाड तथा मध्येप्रदेश र तराईका भू–भागमा बसोबास गर्ने आदिवासी जनजाति थारू, मगर लगायतका जातजातिले मनाउँदै आएका छन् ।

विशेष गरी थारू समुदायले माघीलाई पर्वको रूपमा मनाउने गर्दछन् भने मगर समुदायले आफ्ना पितृ र चेलीबेटीको पूजा गरेर चाडकै रूपमा मनाउने गरेको पाइन्छ । तथापि थारू समुदायले भने यो पर्वलाई नयाँ वर्षको सुरुवातीको रूपमा पनि मनाउने गर्छन् ।

पुष महिनाको अन्तिम दिन जिता (जित) र मरना (मरण) एवं सके जित्नु नसके मर्नु भन्दै सुंगुर काट्ने चलन पनि रहेको छ । सुंगुरको मासु आफ्नो सामुदायमा रहेका आफन्तहरूलाई बाँडेर धमार गीत गाउदै रातभर जाग्राम बस्ने थारु समुदायमा परापूर्वदेखि नै चल्दै आएको चलन हो । दाङ, बर्दीया, कैलाली, कञ्चनपुरमा माघी मेला, महोत्सवको पनि आयोजना गरिन्छ ।

तथापि मगर समुदायले मनाउने माघी पर्व हिन्दु संस्कारसँग जोडिएको आदिवासी जनजाति महासंघका पूर्व सचिव हिमाल मगर बताउँछन् । उनी भन्छन्, ‘माघी मगर समुदायका लागि पर्वमात्रै नभएर हिन्दु धर्मसँग जोडिएको संस्कारको एउटा पर्याय पनि हो । रातभर जाग्राम बसेर, एकाबिहानै धारो, पधेँरो, मूल, मुहानमा पुगेर स्नान गर्नु, आगोको धुनी बालेर ताप्नु, त्यसपछि घर फर्किदा साथमा जल लिएर पितृ, चेलीबेटीको पूजा गर्नु धर्म, संस्कारसँग जोडिएको पर्याय हो ।’

पूर्वी पहाडका मगर समुदाय पितृलोकमा निवास प्रेतको अवस्थाबाट मुक्ति पाउन पूर्वजको पूजा–आजा गरेर माघी मनाउँछन् भने पश्चिम पहाडमा बसोबास गर्ने मगर समुदायले दशैँ तिहार जस्तै गरेर मनाउँछन् । देशका विभिन्न ठाउँमा बसोबास गर्ने मगर समुदायकाले माघीलाई आ–आफ्नै ढंगबाट मनाउने गरेको बताउँछन्, लेखक तथा विज्ञ विनोद घर्ती मगर ।

मगर समुदायपिच्छे फरक शैली र फरक ढंगबाट मनाउने यो पर्व घरमा आफ्नी दिदी, बहिनी, काकी, फुपू लगायतका चेलीबेटीको पूजा गरेर पनि मनाउने चलन छ । नेपाल मगर संघ जाजरकोटका पूर्व अध्यक्ष टोपबहादुर थापा मगरका अनुसार, ‘सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, रोल्पा, हुम्ला, डोल्पा, मुगु, कैलाली, कञ्चनपुरमा माघीलाई मान्यजनको हातबाट आशीर्वाद थाप्ने पर्वका रूपमा लिने गरिन्छ ।’

‘माघको मसान्तको रातमा घरपरिवार, साथी–संगी जम्मा भएर जाग्राम बस्ने, तरुल, सखरखण्ड, पिडालु, आलु उसिनेर खाने, नाचगान गरी रमाइलो गर्ने गरिन्छ । त्यसपछि संक्रान्तिको बिहानै बिहानी तारा उदाएसँगै खोला, नदी, तालतलैया, पानीको मुहानमा पुगेर स्नान गर्ने गरिन्छ । स्नान गरेर शरीर पवित्र बनाइ घरमा पुगेर हजुर आमाबा, आमाबाको हातबाट आशीर्वाद थाप्ने गरेको बताउँछन्,’ –अध्यक्ष थापा ।

नेपालका मगर जातिहरूबीच माघे संक्रान्तिलाई महत्वपूर्ण पर्वको रूपमा मनाउने चलन परापूर्व कालदेखि नै चल्दै आएको छ । यो पर्वलाई मगरहरूको राष्ट्रिय पर्वको रूपमा पनि घोषणा गरिएको छ । विशेष गरी पूर्व र पश्चिमका मगरहरूले भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन चित्रबहादुर बुढाथोकी मगर बताउँछन् ।

माघे संक्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनुकाँड खेल्दै माघे संक्रान्तिको रौनक सुरू गर्छन् । वन तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुष मसान्तमा दाइभाइ जंगलतिर लाग्छन् ।

घरमा बसेकाहरू धान कुट्दै, सखरखण्ड तथा घरतरुल खनेर तयारी गर्छन् भने अबेर वनतरुल लिएर घर फर्केर रात भर तरुल पकाउनेदेखि लिएर पुरी बनाएर अधिष्ठान्न भोजन पकाएर खान्छन् ।

पछिल्लो समय यो पर्व देशका विभिन्न जातजाति, धर्म र समुदायका मानिसहरूले पनि मनाउने गरेको पाइन्छ । माघीलाई हिजोआज महोत्सवको रूपमा पनि मनाउने गरिन्छ । माघीमा जहाँ–जहाँ मेला लाग्छ, त्यहाँ महोत्सव लगाईन्छ ।

माघी महोत्सवमा थारू तथा मगर संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरण, भेषभूषा, मौलिक खानाको परिकार घोंघी, ढिक्री लगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगान जस्ता कार्यक्रमको आयोजना पनि गरिन्छ ।ृ

खासगरी यो पर्व पश्चिममा थारू र मगर समुदायमा मात्रै सीमित थियो । समयक्रमसँगै मगर लगायत अन्य जातजातिले पनि मनाउँदै आएका छन् । पहिले–पहिले तराई–मधेसका थारू समुदायले मनाउने गर्दथें । सोही समुदायबाटै अन्य समुदायले पनि सिको गरी मनाउँदै आएको पाइन्छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारूहरूले विगत केही वर्षयता माघीलाई महोत्सवको रूपमा आयोजना गर्दै आएका छन् । वर्षेनी थारू समुदायका मानिसहरूले भृकुटीमण्डपमा मेला महोत्सवको आयोजना गर्ने गर्छन् भने यस वर्ष पनि आयोजना गरिएको छ । यहाँ मात्रै नभएर देशका थुप्रै ठाउँमा भोलि मेला महोत्सवको आयोजना गरिएको छ ।

थारूहरूको मौलिक संस्कृतिको सबैभन्दा ठूलो पर्वको रूपमा माघीलाई लिइन्छ । माघीलाई पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । पुष मसान्तमा घरघरमा सुंगुरको मासु, ढिकरी, माछा लगायतको परिकार बनाएर पनि खाईन्छ ।

रातभर नाचगान गरी रमाइलो गर्ने, सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैले गाउने गरिन्छ । माघीमा गाइने गीतलाई धमार पनि भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ ।

नेपाल सरकारले २०५९ सालयता माघी पर्र्वका दिन सार्वजनिक बिदा दिएको छ ।