काठमाडौँ । अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा र सांस्कृतिक संस्थानको सहकार्यमा साउने संकराई (उधेली पर्व) २०८३ विशेष कार्यक्रम बिहीबार थानकोटस्थित त्रिभुवन पार्कमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन (अनन्त)ले गणतन्त्र स्थापनापछि सबै समुदायले आफ्ना सांस्कृतिक पर्वलाई खुला रूपमा मनाउन पाएको उल्लेख गर्दै संस्कृति संरक्षणका लागि स्पष्ट राज्यनीति आवश्यक रहेको बताए।
त्यस्तै वरिष्ठ मगर संस्कृतिविद् बमकुमारी बुढा मगरले मगर समुदायमा साउने संकराई उधेली ऋतुको सुरुआतसँग जोडिएको मौलिक पर्व भएको बताउँदै प्रकृति पूजा, मादल फुकाउने परम्परा तथा गायन–वादन र नृत्यको शुभारम्भसँग यसको सम्बन्ध रहेको स्पष्ट पारिन्।
साेही अवसरमा बाेल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले पर्वको मौलिकता संरक्षण, पुस्तान्तरण र अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा जोड दिए ।
कार्यक्रममा अथार मगरात क्षेत्रको मौलिक संस्कृति प्रदर्शनी, रैथाने परिकार प्रदर्शन तथा झ्याउरे, टप्पा, जोरा स्याईं, पैंस्यारु, भूमे र कौराहा लगायतका सांस्कृतिक प्रस्तुति गरिएको थियो।
साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष झबिन्द्र पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ, आदिवासी जनजाति आयोग, विद्यार्थी संगठन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तस्वीर : राेमन बुढामगर