• जेष्ठ १७ २०८३, आईतवार

दुई दिनमै १४ जनाको मृत्यु, प्रहरी प्रशासनद्वारा छानबिन तथा कारबाही गर्ने आश्वासन

पुष २९ २०७९, शुक्रबार

काठमाडौं । पछिल्लो दुई दिनमै देशका छुट्टाछुट्टै स्थानमा १४ जनाको मृत्यु भएको छ । आज (शुक्रबार) नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूको सडक सवारी तथा विभिन्न दुर्घटनामा परी मृत्यु भएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे भलादमी चोकमा सडक सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हिजो (बिहीबार) राति उनीहरूको मृत्यु भएको हो ।

ना.३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका–८ सिमपानी बस्ने ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावती बस्ने ३२ वर्षीय रूपेश तामाङ रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा स्कुटर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई गम्भीर घाइते भएको अवस्थामा फेला परी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो ।

त्यस्तै पाल्पाको तानसेन नगरपालिका–१२ ल्हुङस्थित सडकमा लु.१ ख ८३६१ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका–१२ बौद्धपोखरा बस्ने ७७ वर्षीया पुतली बिकको बिहीबार दिउँसो मृत्यु भएको छ ।

बसबाट ओर्लिई घरतर्फ जानेक्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–७ फिटिङ पुल नजिकै सडकमा ना.७ त ४८१६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–७ रामपुर बस्ने २५ वर्षीय राम बस्नेत मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–४ अल्कत्रेडाँडास्थित सडकमा ना.४ च ९६३१ नम्बर पिकअप गाडी र ना.५ ख ९७१५ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा पिकअपमा गाडीका चालक चितवन भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ५२ वर्षीय राजकुमार विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार १ जनालाई उपचारको लागि देवदह मेडिकल कलेज भुलही पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको गौरादह नगरपालिका–१ स्थित सडकमा मे.१ ख २६७६ नम्बरको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१ बस्ने ७२ वर्षीया तुलसा दाहालको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लाइफ लाइन अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी चामुण्डा मन्दिर नजिकै डेरा गरी बस्ने सिन्धुली कुशेश्वर दुप्चा गाउँपालिका–२ घर भएका ५२ वर्षीय सुशील भण्डारी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वा बस्ने ७० वर्षीया सरस्वती देवीको आगलागीमा परी बिहीबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषाको धनुषाधाम नगरपालिकला–१ मुसहरोल बस्ने जोगिन्दर यादवको कुखुरा फर्ममा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर अन्दाजी पाँच लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

मकवानपुरमा बाग्मती गाउँपालिका–७ लामिटारमा बा.प्र.०३–००३ प ७२०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय सिन्ताङ साईलाको मृत्यु भएको छ ।

बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको हेटौंडा चुरेहिल अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

चितवनमा रत्ननगर नगरपालिका–१२ जमुनापुरमा ना.४२ प ४४५३ नम्बरको मोटरसाइकल र ना. ४ ख ५३०१ नम्बरको मिनि ट्रक एक–आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन र मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलबस्तुको शिवराज नगरपालिका–२ हल्लानगरस्थित २ नम्बर टोल बस्ने ३३ वर्षीया लालमती पुनको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । धोएको कपडा घरको आँगनमा रहेको फलामको तारमा सुकाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुंगाको खिजिदेम्बे गाउँपालिका–६ बस्ने ६९ वर्षीय लाक्पा शेर्पा सोही ठाउँस्थित गोठमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखाको मेलुङ गाउँपालिका–१ दियालेखर्क बस्ने ५१ वर्षीय कृष्णबहादुर भुजेल सोही ठाउँस्थित कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेका थिए । यी सबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

दिनहुँजसो देशका छुट्टाछुट्टै स्थानमा भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्ने आश्वासन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले समेत यी घटनाको बारेमा अनुसन्धान भइरहेको बताएको छ ।

त्यस्तै गृह मन्त्रालयका सह–सचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार, ‘देशमा दैनिक घट्ने घटनाको विवरण सम्बन्धित जिल्लाको सम्बन्धित निकायमा अभिलेख गरिएको छ । सोही अभिलेखका आधारमा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढ्छ । यसअघि घटेका घटनाहरूको पनि अनुसन्धान तथा कारबाही भइरहेको छ ।’