दाङ । आफूले रोजेको मन्त्रालय पाउनु पर्ने दाबी गरेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले आज शपथ नलिने भएका छन् । यो लुम्बिनी प्रदेशको खबर हो ।
बिहीबार दिउँसो १ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको शपथ ग्रहण लगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी थियो । मुख्यमन्त्रीलाई शपथ गराउन बुधबार साँझ नै प्रदेश प्रमुख अमिक शेरचन प्रदेश राजधानी राप्ती उपत्यका पुगिसकेका भएपनि माओवादीका महराले शपथ ग्रहण नगर्ने अडान लिएको समाचार बाहिरीएको थियो ।
अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका उनले आफ्नो रोजाइको मन्त्रालय नपाएर शपथ नलिएको माओवादीका एक नेताले सञ्चारमाध्यमलाई जानकारी दिए । उनले शपथ नलिने भएपनि माओवादीकै अर्का एक नेतालाई पनि शपथ ग्रहण गराउने तयारी रहेको सांसद तुलाराम घर्तीले जानकारी दिएका छन् ।
माओवादीको बटम लाइनमा अर्थ र पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय छ तर ती मन्त्रालय दिन एमालेले आनाकानी गरिरहेको स्रोतले बतायो । एमालेका भुमिश्वर ढकालले पनि आजै मन्त्रीको शपथ ग्रहण गर्दैछन् । एमाले भित्र पनि मन्त्रालयको कुरा नमिलेपछि ढकालको शपथ रोकिएको एमालेका एक सांसदले बताए ।
एमाले भित्र शहरी विकास मन्त्रालयमा आचार्य र ढकाल दुबैको दाबी रहेको स्रोतले बतायो । महराले शपथ नलिएपछि एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले बिना विभागीय मन्त्रीको शपथ लिएका छन् । अहिले सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री गिरी आफैले राखेका छन् ।