काठमाडौं । वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । मङ्सिर ४ को निर्वाचनअघि भुसालले नेकपा एमाले छाडेका थिए । भुसाल एमालेमा केपी ओलीको स्वैच्छाचारिता सहन नसकेर पार्टी छोडेको बताइन्छ ।
एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी भएको उपमहासचिव गङ्गालाल तुलाधरले सञ्चारमाध्यमलाई जानकारी दिए ।
‘हामीले उहाँले राखेका प्रस्तावको जवाफ पठाइसकेका छौं । अब छिट्टै उहाँ पार्टी प्रवेश गर्दै हुनुहुन्छ’, तुलाधरले भने, ‘बाँकी विषयमा बैठक बसेर निणर्य हुन्छ ।’
एकीकृत समाजवादीका नेताहरूका अनुसार भुसाललाई पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी छ । स्रोतका अनुसार आइतबारसम्म पत्रकार सम्मेलन गरेर भुसाल औपचारिक रूपमा पार्टी प्रवेशको तयारी भइरहेको छ ।
मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले वापन्थीहरुबीच एकता र सहकार्यका लागि वार्ता समिति नै गठन गरेर विभिन्न पार्टी र व्यक्तिहरूसँग छलफल चलाइरहेको छ ।