काठमाडौं । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।
बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो ।
सत्ता गठबन्धनमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।
यसैबीच, आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ ।