काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षाको लागि पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन् ।
३०१औं पृथ्वी जयन्तीमा आज गोरखामा आयोजित शालिक अनावरण र झण्डोत्तोलन कार्यक्रममा उनले राष्ट्रनिर्माताले लिएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको उल्लेख गरे ।
प्रधानसेनापति शर्माले भने,‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत महत्वपूणर् हितको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व छ ।’
सेनाले गढी, किल्ला, दरबार, कोट तथा कला संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकता कायम गर्न टेवा पुर्याउँदै आएको छ । सेनाका संस्थापक तथा राष्ट्र निर्माताले नेपालको आर्थिक, सामाजिक एवं वैदेशिक नीतिका सम्बन्धमा दिएको मार्गदर्शन आज पनि उत्तिकै मननयोग्य रहेको उनले उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा रणनीति, कूटनीति र राष्ट्रिय एकताका सम्बन्धमा दिनुभएको दिव्योपदेश हाम्रो राष्ट्रको गौरवमय इतिहास जोगाइराख्न महत्वपूणर् सावित हुँदै आएको उनको भनाइ थियो ।