काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
केन्द्रमा संघीय सरकारका लागि बनेको सत्ता समीकरणअनुसार यादवलाई ६ वटा पार्टी र स्वतन्त्र गरी ६३ प्रदेश सभा सदस्य (सांसद)को समर्थन छ । मधेस प्रदेश सभाका निवर्तमान सभामुख समेत रहेका यादवलाई उनको दल जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ तथा स्वतन्त्र सांसदसहित ६३ सांसदको समर्थन छ ।