• बैशाख २८ २०८३, सोमबार

कर्णालीमा सत्तारूढ दल एमाले-माओवादीको मुख्यमन्त्रीमा दाबी, केन्द्रको निर्णय एमालेले कार्यान्वयन गर्ला ?

पुष २७ २०७९, बुधबार

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने समयसीमा आज (बुधबार) साँझ ५ बजे सकिँदैछ । तथापि अहिलेसम्म सत्तारूढ दल नेकपा (माआृवादी केन्द्र) र नेकपा (एमाले)बीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

मुख्यमन्त्री पदको समहमतिका लागि माओवादी केन्द्र र एमालेले तीन पटकसम्म छलफल गर्दा पनि निष्कर्षमा पुग्न नसकेको माओवादी केन्द्र एक कर्णाली प्रदेशसभा सदस्यले बताए । उनले भने, ‘यहीँ पुष महिनाको दोस्रो साता एक पटक र तेस्रो साता दुई पटकसम्म औपचारिक छलफल गर्दा पनि एमाले सहमतिमा नआएपछि मुख्यमन्त्री सहमतिका लागि सकस भएको छ । तर, हामी आज पनि छलफल गर्ने छौँ र निष्कर्ष निकाल्ने कोसिस गर्नेछौँ ।’

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा अगावै माओवादी केन्द्र र एमालेले सहमति जुटाउने प्रयास गरिरहेको छ । एमालेभित्रै पटक–पटक छलफल गरिए पनि केही नेताले सहमतिको वातावरण जुटाउन तयार नभएपछि छलफल थप लम्बिएको एमाले प्रदेशसभा सदस्यले बताए ।

‘यसभन्दा पहिले कर्णाली प्रदेशको जिम्मेवारी माओवादी केन्द्रले सम्हाली सकेको छ । केही समय कांग्रेसले पनि सम्हाल्यो । अब हाम्रो पार्टीले मुख्यमन्त्री पाउनुपर्छ । तथापि केन्द्रको निर्णयले हामी संकटमा छौँ । तर, प्रदेशको स्वायतत्तामाथि केन्द्रको हस्तक्षेत्रकारी भूमिका हुँदा संघीयतामाथि नै हस्तक्षेप छ । यसर्थ हामी आफूले पाएको स्वायतत्ता हामीले नै उपयोग गर्न पाउनुपर्छ भन्ने नै हो,’ भन्छन् एमालेका एक प्रदेशसभा सदस्य ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का एक कर्णाली प्रदेशसभा सदस्यको भनाइ अनुसार माओवादी केन्द्र र एमालेले केन्द्रको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यतिमात्रै होइन, कर्णालीमा माओवादी दोस्रो ठूलो दल भएकाले पनि प्रदेश सरकार आफैले नेतृत्व गर्न पाउनुपर्ने उनको जिकिर छ ।

यो समाचार तयार पार्दै गर्दा माओवादी केन्द्र र एमालेबीच छलफल सुरु भएको छ । छलफलमा दुवै दलका शीर्ष नेता, इञ्चार्ज, संसदीय दलका नेता लगायत प्रदेशसभा सदस्यदहरू पनि सहभागी छन् । तर, सहमतिमा एमाले जान नसक्ने एमालेका नेताहरूले अडान राख्दै आएका छन् ।

एमालेले कर्णालीमा सके पूर्ण कार्यकाल नभए आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको छ । तर, एमालेको यो निर्णय मान्न माओवादी केन्द्र तयार छैन । माओवादी केन्द्रले आधा कार्यकाल दिन नमाने केन्द्रको सहमति बेगर आजै एमालेले पनि मुख्यमन्त्री दाबी पेश गर्ने बताइएको छ । यसरी हेर्दा केन्द्रको सहमति माओवादी केन्द्रले कार्यान्वयन गर्न तयार भए पनि एमाले तयार देखिँदैन ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लका अनुसार अहिले दुई दलबीच औपचारिक छलफल सुरु भएको छ । छलफलबाट मुख्यमन्त्रीको टुंगो लगाइसके पश्चात् अन्य मन्त्रालयको भागबन्डाको विषयमा पनि छलफल हुनेछ ।

केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार कर्णालीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने सहमति भएको छ । सोही अनुसार नै एमालेको तर्फबाट वार्ता तथा छलफलका लागि संसदीय दलका नेता यमलाल कँडेललाई हिजो (मंगलबार) नै जिम्मेवारी दिइएको थियो । तथापि उनले हालसम्म कुनै निष्कर्ष निकाल्न नसकेको बताइएको छ ।

माओवादी केन्द्र र एमालेका गरी २३ जना प्रदेशसभा सदस्यहरू छन् । सरकार बनाउन २१ जना प्रदेशसभा सदस्य हुनुपर्छ । मुख्यमन्त्रीको दाबेदार माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा छन् । एमालेबाट भने कंडेल छन् । उनी एमाले संसदीय दलको नेता पनि हुन् । कर्णालीमा माओवादी केन्द्रको १३ र एमालेको १० प्रदेशसभा सदस्य छन् ।