• बैशाख २८ २०८३, सोमबार

सांसद सुवालको प्रश्न : भैरहवा विमानस्थल चलाउन भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ?

पुष २५ २०७९, सोमबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा महत्वपूणर् प्रस्ताव ल्याउन नहुने बताएका छन् । सोमबार संसद बैठकमा बोल्दै उनले विगतमा सरकारले हचुवामा प्रस्तावहरू ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताए । उनले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताए ।

उनले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबन्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागेर देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताए । उनले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हित नहेर्नेहरू नेपाली नागरिक हुन नसक्ने बताए ।

उनले भने, ‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ । संसद सरकारको रोहबर छाप बनाउनु हुँदैन । सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबन्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होला र ? सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन । हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवा वैदेशिक रोजगारीमा पठाउने निणर्य अहिले जटिल भयो । यसले नेपालको अर्थतन्त्र समाप्त पार्दैछ । जङ्गल मासेर रङ्गशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थलको प्रस्तावकै बेला प्रश्न उठाएको हो । गठबन्धन पद र पैसामा गर्नु हुँदैन । नेपालको हित नहेर्नेहरू नेपाली नागरिक हुन सक्दैनन् ।’

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हित विपरीत रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाए ।