काठमाडौं । गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उपप्रधान समेत रहेका गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाई म्यान्डेट अनुसार काम गर्नुपर्ने बताए ।
साथै उनले विगतमा भएका कमजोरीहरूलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्य सम्पादन गर्न निर्देशन दिए । तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङ्रुको कठ्याङ्ग्रिंदो चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘नागरिकको जीउधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुत तपाईंहरुलाई सलाम छ, मेरो कार्यकालभरि मात्र होइन जीवन कालभरि तपाईंले गरेको सलामको इज्जत राख्नेछु ।’
जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउँदै गृहमन्त्री लामिछानेले भने–‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्युटी वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’
उनले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरूको मन अमिलो भएको हुनसक्छ भने केही घमन्डको गुलियो र हिनतावोधको कारण एकै ठाउँमा कार्य गर्दा व्यावसायिक क्षमतामा ह्रास आउनसक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताए ।
धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई पेसागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरूलाई प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए । उनले नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपदमा परेकाहरूको उद्धार तथा सिमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताए ।