काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले भ्रष्टाचार नियन्त्रणका लागि संसदबाट मन्त्री नहुने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको मुख्य स्रोत भएको भन्दै गौतमले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्ने सुझाव राखे ।
‘हाम्रो शासन प्रणाली गलत छ । संसदबाट मन्त्री छान्ने व्यवस्था रहुन्जेल भ्रष्टाचार नियन्त्रण हुन्न झन ध्वस्त हुन्छ,’ गौतमले भने ‘त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था होस् र संसदबाट मन्त्री हुने व्यवस्थाको अन्त्य होस् ।’
गौतमले भने,‘अहिलेको शासन प्रणालीले सांसद निर्वाचित गर्नका लागि धेरै पैसा खर्च गराउँछ । जसले जानेको छ र सुधार गर्न चाहन्छ त्यसलाई अनेकथरी जालझेल गरेर हराइन्छ ।’ कार्यक्रममा उनले बाउबाजेको पुरानो प्रणाली भनेर अहिलेको पक्षमा नलाग्न सुझाव दिए । गौतमले भ्रष्टाचार नियन्त्रणका लागि भूमिमाथि व्यक्तिको स्वामित्व पनि समाप्त गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो प्रमुख स्रोत भूमि हो त्यसैलै भूमिमाथि व्यक्तिको स्वामित्व रहने व्यवस्था अन्त्य गरिनुपर्छ । व्यक्ति, समूह र कम्पनीले कुनै उत्पादनको काम गर्नुपर्यो भने लीजमा जग्गा लिनुपर्छ,’ गौतमले भने ।
यस क्रममा उनले भ्रष्टाचारले देशलाई बर्बाद पारेको भन्दै चिन्ता व्यक्त गरे । ‘भ्रष्टाचार गर्नेले देश बर्बाद गर्छन्, समाजलाई बर्बाद गर्छन् र परिवारलाई बर्बाद गर्छन् । भ्रष्टाचारको जड शासन प्रणालीमै छ,’ उनले भने ।
निरंकुश शासन हुँदैमा भ्रष्टाचार नियन्त्रण नहुने पनि उनको भनाइ थियो । उनले भने, ‘चीनले भ्रष्टाचार हुनै नदिने नीति अख्तियार गरेको छ, तर प्रत्येक वर्ष १० देखि १५ हजार व्यक्तिलाई भ्रष्टाचारको अभियोगमा मृत्युदण्ड दिइरहेको छ, निरंकुश शासन ल्याएर भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा गलत हो । एकै व्यक्तिले नियन्त्रण गर्न सक्दैन । जनतामा भ्रष्टाचार विरोधी भावना र संस्कृतिको विकास गरिनु पर्छ । त्यसै अनुसारको प्रणाली र विधिसम्मत रुपमा तत्कालै कारबाही गर्नुपर्छ ।’