काठमाडौं । वर्तमान सत्ता गठबन्धनले सरकारका नीतिगत संरचना र सुधारका एजेण्डाको खाकालाई अन्तिम रूप दिँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले कार्यान्वयन गर्ने गरी नीतिगत संरचना र सुधारका एजेण्डाको खाका तयार पारिएको हो ।
सत्तारुढ गठबन्धनमा आबद्ध घटक मिलेर सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको ड्राफ्ट तयार पारिएको हो, जसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । सोही ड्राफ्टमा उल्लेख भए अनुसार नीतिगत तथा संरचनागत सुधारका केही बुँदा प्रस्ताव गरिएको छ ।
जसअनुसार अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी त्यसको सुझाव र सिफारिस अनुरूप न्यायपालिकाको शुद्धीकरण र सुधार गर्ने एवम् आम नागरिकले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चितता गर्ने मस्यौदामा उल्लेख छ ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गर्ने, सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने जनाइएको छ ।
संसदकाे पहिलो अधिवेशनबाट सार्वजनिक खरिद ऐन, राष्ट्रिय महत्वका पूर्वाधार आयोजनको शीघ्र कार्यान्वयन सम्बन्धी ऐन, नागरिकता सम्बन्धी ऐन, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (समायोजन समेत) ऐन, सार्वजनिक यातायात सेवा ऐन, स्थानीय प्रशासन ऐन, संघीय निजामती सेवा ऐन, छाता विश्वविद्यालय ऐन लगायत ऐन तर्जुमा या विद्यमान ऐनमा समयानुकूल परिमार्जन गर्ने जनाइएको छ ।