• बैशाख २८ २०८३, सोमबार

गृहमन्त्री लामिछानेको नागरिकता विवाद प्रकरण : संवैधानिक इजलासमा सुनुवाइ हुँदै

पुष २२ २०७९, शुक्रबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद प्रकरणबारे संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

यसअघि ६ पुसमा लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । आज पेसी चढेसँगै रिटमाथि सुनुवाइ हुने भएको हो ।