काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई समर्थन गर्ने बताएको थियो ।
एमाले–माओवादी गठबन्धन सरकार गठनको बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ओली निवास बालकोटमै थिए । त्यहीँ मौका छापेर प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । उनको आग्रहलाई लिङ्देनले नकार्न सकेनन् र समर्थन गर्ने प्रतिबद्धता जनाए ।
उनको प्रतिबद्धता पश्चात् राप्रपा सरकारमा संलग्न हुनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क थिए । त्यहीँ अनुसार मन्त्रिपरिषद् बाँडफाँडको तयारीमा जुटेका प्रधानमन्त्री यतिबेला दोधारमा देखिन्छन् । सकभर राप्रपा लगायत सरकारमा संलग्न हुन चहाने अन्य दलहरूलाई मिलाएर लैजाने उनको चाहना भए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले बखेडा झिँक्दै आएका छन् । एकीकृत समाजवादीले पर्ख र हेरको नीति लिएको छ भने जसपाले सर्तै–सर्त राखेको छ ।
यसर्थ अब उप्रान्त विश्वासको मत नलिएसम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिने पक्षमा प्रधानमन्त्री देखिन्छन् । उनले विश्वासको मत प्राप्त गरे पश्चात् दललाई मिलाएर लैजाने, नभए जुन–जुन पार्टी सरकारमा जान चाहेका हुन् उनीहरूलाई साथमा लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन् ।
तथापि सरकारमा जाने विषयलाई लिएर राप्रपाभित्रै विवाद उत्पन्न भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन पक्षले सरकारमा जाने अडान राखेको छ भने उपाध्यक्ष बुद्धिमान तामाङ पक्षले जान नहुने तर्क अगाडि सार्दै आएको छ ।
यद्यपि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा संलग्न हुनु पहिले केही एजेण्डा अगाडि सारेको छ । उसको प्रमुख एजेण्डा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने रहेको छ ।
यदि सरकारले सार्वजनिक बिदा दिए सरकारमा सहभागी हुन सकिने अध्यक्ष लिङ्देनले यसअघि नै बताइसकेका छन् । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा आफ्ना एजेण्डा समावेश भए सरकारमा जाने उपाध्यक्ष तामाङले बताए । अन्यथा आफ्नो पार्टी सरकारमा संलग्न नहुने तामाङ बताउँछन् ।
हिजो (बुधबार) पार्टी पदाधिकारी बैठकमा अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर बन्दैन, एक–दुई थान मन्त्री खान जात फाल्दैन, भन्ने उदघोषलाई गुरूमन्त्र मानेर दुईमात्र मन्त्री पदका लागि सरकारमा जान नहुने तर्क राखेका थिए । बैठकमा अध्यक्षले राप्रपालाई चार सीट दिलाउने जानकारी गराएका थिए । मुख्यमन्त्रीको दाबी छोडेर एउटा मन्त्री थप्ने उनको तर्क थियो ।
तर, कार्यसम्पादनको वैठकसम्म पुग्दा उनले तीन जना मन्त्री पाउने बताए । तथापि सत्ता साझेदार दलका शीर्ष नेताहरूको हिजो बसेको बैठकपछि राप्रपाले दुईवटा मात्र मन्त्रालय पाउने तर्क राखेपछि राप्रपा सरकारमा जान आनकानी गरिरहेको छ ।
सरकारमा जाने वा नजाने विषयलाई लिएर अध्यक्ष लिङदेनले संसद्का जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा र निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीलाई भेटेर नेता तथा कार्यकर्ताबाट सुझाव लिएका थिए् । आफूले लिएको सुझाव मिश्रित भएको उनी स्वयं बताउँछन् ।
केही नेताले सरकारमा जान नहुने सुझाव दिएका थिए भने केहीले सरकारमा जान हुने सुझाव दिए । यही सुझावको आधारमा लिङ्देन सरकारमा जाने वा नजाने निष्कर्षमा पुग्ने बताइएको छ । एकीकृत समाजवादी र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले यहीँ पुष २६ गते विश्वासको मत लिँदैछन् ।