काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई परिस्थिति हेरेर विश्वासको मत दिने भएको छ । पार्टी सचिवालय बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै परिस्थितिको आँकलन गरेर मात्रै विश्वासको मत दिने नदिने निर्णय हुने बताए ।
प्रधानमन्त्री दाहालले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । एकीकृत समाजवादीले दाहाललाई विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय गरेको छैन । सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रालय भागवण्डा लगायत विविध विषयमा ख्याल गरेर मात्रै विश्वासको मत दिने तयारी गरेको हो ।
यसैबीच खतिवडाले भने, ‘सरकारलाई समर्थन गर्ने–नगर्ने भन्नेमा धारणा बनाउनै परेन ।’ साथै उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अध्यक्ष माधवकुमार नेपालबीचको भेटलाई ‘निजी भेट’, भन्दै विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको दोहोर्याए ।
‘त्यो उहाँहरुको निजी भेट हो, पार्टीलाई समर्थनका लागि प्रस्ताव आएको छैन, प्रस्ताव नै नआएपछि निर्णय गर्न नै परेन’, खतिवडाको भनाइ छ ।