• बैशाख २८ २०८३, सोमबार

थ्रेसहोल्ड कटाएको भए हेलिकोप्टर र हवाइजहाज दिइन्थ्यो : माधव नेपाल

पुष २० २०७९, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत मंसिरको चुनावमा नेता तथा कार्यकर्ता राम्रोसँग जनताका बीचमा नखटेकोले थ्रेसहोल्ड पार गर्न नसकिएको बताएका छन् ।

थ्रेसहोल्ड पार गर्न नसक्दा (३ प्रतिशत मत) नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेको थिएन भने समानुपातिकतर्फ प्रतिनिधि सभामा एक सिट पनि प्राप्त गरेको थिएन । उनले गत मंसिरको चुनावमा सोचेजस्तो परिणाम नआएको बताए ।

आज पार्टी कार्यालयमा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरूलाई बधाई दिँदै अध्यक्ष नेपालले भने, ‘सोचेजस्तो परिणाम आएन । कतिपय मानिसहरूका अनुहार खिस्रिक्क परेको जस्तो देखिन्छ । हामीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १० सिट जितेको हो, यसको हैसियत संसदमा हुन्छ ।’

उनले पार्टीका नेता तथा कार्यकर्ताका कमजोरीले गर्दा पार्टीले थ्रेसहोल्ड नकटाएको पनि दाबी गरेका थिए । ‘जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन र थेसहोल्ड पार भएन,’ उनले भने, ‘हाम्रा नेता कार्यकर्ता जसरी खट्नुपथ्र्यो त्यसरी भएन ।’ उनले थेसहोल्ड पार गर्न नसके पनि केही नहुने बताए ।

‘थ्रेसहोल्ड पार गरेको भए हामीलाई एउटा हेलिकप्टर वा हवाईजहाज दिन्थ्यो कि केही दिनेवाला थिएन । कुनै पार्टी अफिस दिन्थ्यो कि, कुनै रकम दिन्थ्यो कि केही दिन्थेन,’ उनले भने, ‘कतिपय देशमा सिटका आधारमा सरकारले पैसा दिने व्यवस्था छ तर यहाँ केही फरक पर्नेवाला छैन ।’

उनले आफूहरूको पार्टी दर्ता भएको र वैधानिक पार्टी भएको बताए । थ्रेसहोल्ड नकटाए पनि सांसदहरूलाई ह्वीप लाग्ने उनले बताए ।