राहदानी विभागले अनिश्चित कालसम्मका लागि राहदानी छपाइ तथा वितरण रोकेको छ । गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो । विभागकी निर्देशक समेत रहेकी प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएको बताइन् ।
उनले आज सूचना निकालेर पुस १७ गतेदेखि नै विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको छ । ‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूणर्रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ,’ सूचनामा भनिएको छ ।
तर नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि पनि विभागमा आइदिन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मात्र पनि सचिवहरूलाई निर्देशन दिँदै राहदानी लगायतमा सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता एक महिनाभित्र हल गर्न नभए कारबाही गरिने चेतावनी दिएका थिए ।
गृह मन्त्रालयले पनि राहदानी लिन सेवाग्राहीको भिडभाड बढेपछि समस्या बुझ्न र समाधान गर्न चार सदस्यीय विज्ञ टोली अनौपचारिक रूपमा खटाएको थियो । ‘विज्ञ टोलीले अध्ययन गरिरहेको छ । यसबारे प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले भने । त्यसअघि गृहमन्त्री रवि लामिछानेले पनि राहदानी विभाग पुगेर अनुगमन गरेका थिए ।